काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका कार्यकर्ताहरूलाई आगामी निर्वाचनमा ‘अबकी बार, सय पार’ नारा दिएर अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

पोखरामा आयोजित कार्यक्रममा उनले पार्टीको सङ्गठनात्मक शक्तिले बहुमत प्राप्त गर्न सकिने दाबी गर्दै घर–घर पुगेर मत माग्न आग्रह गरे । उनले भने, ‘नेपालमा आज १६५ निर्वाचन क्षेत्रमा चुनाव लड्ने एकमात्र पार्टी नेपाली कांग्रेस हो । कुनै पनि कार्यकर्ताले रुख चिह्नबाहेक अन्यत्र मत हाल्न पाइँदैन । बन्द कोठामा गएर खासखुस गर्नुहुँदैन । कुनै नेताको जितका लागि अर्को नेतालाई हराउने खेल स्वीकार्य छैन । अब ‘यो सरकार’ भन्ने पुरानो नारा छोड्नुस् र ‘अबकी बार, सय पार’ नारा लगाउनुस् । हाम्रो सङ्गठनको तागतले यो सम्भव छ, बहुमतसम्म पुग्न सकिन्छ ।’
कांग्रेसमा १० लाख क्रियाशील सदस्य रहेको पार्टी भएको बताउँदै थापाले विगतमा पार्टी छोडेका साथीहरूलाई फर्कन आह्वान गरे । उनले भने, ‘कुनै कारणले, चित्त दुखेर वा मन दुखेर गएका साथीहरूलाई हृदयदेखि स्वागत गर्नुपर्छ । घर फर्क भन्नुपर्छ । तपाईँहरूले जुन कुरामा चित्त दुखाएर जानुभयो, त्यसलाई सम्बोधन गर्ने प्रयास हामीले गरेका छौँ भन्नुपर्छ ।’
गएको निर्वाचनमा पार्टीभित्र असन्तुष्टि हुँदाहुँदै पनि समानुपातिकतर्फ २७ लाखभन्दा बढी मत प्राप्त गरेको उल्लेख गर्दै उनले भने, ‘हल्लामा नतर्सिनुस् । पार्टीको सङ्गठनात्मक शक्ति बलियो छ । सामाजिक सञ्जालमा सक्रिय हुनुहोस्, तर त्यहाँ मात्र सीमित नहुनुस् । हाम्रो वास्तविक तागत घर–घर, गाउँ–गाउँ र टोल–टोल पुग्नु हो ।’
पुरानो चुनावी शैली पर्याप्त नहुने भन्दै थापाले प्रचारप्रसारको तरिका बदल्नुपर्ने जोड दिए । उनले भने, ‘उम्मेदवार एक्लै हिँडेर हुँदैन । उनीहरू ४-५ जना कार्यकर्ता लिएर घरदैलो गर्न सक्छन् । प्रत्येक घर छुट्नुहुँदैन, प्रत्येक मतदाता छुट्नुहुँदैन । अब पर्चा छोडेर हिँड्ने होइन, घरमा बसेर कुराकानी गर्नुपर्छ, गाली सुन्नुपर्छ, प्रश्न सुन्नुपर्छ र जवाफ दिनुपर्छ । हामी गाली वा प्रश्नबाट भाग्ने होइनौँ । सामाजिक सञ्जालको भ्यूज र लाइक्सको पछाडि मात्र दौडने होइन, वास्तविक घरदैलो अभियान चलाउनुपर्छ ।’











