Logo
Logo

नैतिक र राजनीतिक भुमरीमा एमाले


1.8k
Shares

काठमाडौं । जेनजी विद्रोहपछि सत्ताच्युत भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राजनीतिक संकटमा मात्र नभई गहिरो वैचारिक, सङ्गठनात्मक र नैतिक संकटमा परेका छन् । निर्वाचन नै नहुने संशयमा रहेका ओली जेनजी आन्दोलनका कारण नैतिक राजनीतिक संकटमा परेका छन् भने, जेनजी आन्दोलनले सिर्जना गरेको नैतिक राजनीतिक दबाबले ओलीलाई भित्रभित्रै कमजोर बनाएको छ । पार्टीभित्रको आन्तरिक द्वन्द्व र सङ्गठनात्मक चुनौतीले उनको स्थिति अझ जटिल मात्र होइन, उनको राजनीतिक भविष्य नै समाप्त हुने बाटोमा अग्रसर भएको छ ।

भदौ २३ गतेको घटनामा १९ जना विद्यार्थीहरूमाथि गोली प्रहार गर्ने बेला सरकारको नेतृत्व गरेका ओलीलाई हत्या आरोप लागिरहेको छ । जसका कारण ओलीले मत माग्ने नैतिक आधार गुमेको छ । ओली मात्र होइन, एमाले महासचिव शंकर पोखरेललगायतका नेताहरूको मनोबल यस चुनावमा ह्वात्तै घटेको छ । जेनजी अभियन्ताहरू ओलीलाई पराजित गर्न देशै भरी सक्रिय छन् । युवा पुस्तामा ओलीप्रति आक्रोश झन् बढ्दो छ । यो बुझेर ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा बालबालिकासँग घुलमिल भएका तस्वीरहरू सार्वजनिक गरिरहेका छन् ।

निर्वाचनसँग डराइरहेका ओली अहिले झापामा रहेका छन् । झापा पुग्नुअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर निर्वाचन सुरक्षाबारे चासो र चिन्ता प्रकट गरेका थिए । खासगरी एमाले अध्यक्ष ओलीले चुनाव एकै चरणमा होस्, कुनै कारण स्थगित हुँदा वा दोहो¥याएर चुनाव गर्नुपर्ने अवस्था आउँदा एउटा चुनाव र अर्को चुनावको बीचमा ग्याप धेरै नहोस् भन्दै चासो राखेको भनिएपनि मुख्यतः उनलाई परेको राजनीतिक संकट मोचन गर्नु नै रहेको बुझिन्छ । साथै, उनको चासो जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगले दिने प्रतिवेदनमा समेत केन्द्रित रहेको बुझिन्छ ।

सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय गर्ने अवस्था नबनेको र फागुन २१ गते निर्वाचन हुने अवस्था देखिएपछि यतिबेला ओली जसरी पनि चुनाव जित्ने अभियानमा लागेका छन् । तर, पछिल्ला दुई दिन झापाको राजनीति गतिविधि हेर्ने हो भने ओलीलाई कार्यकर्ताकै अभाव पर्न थालेको छ । उनलाई बालेन साहको उम्मेदवारी भारी बन्दै गएको छ । बालेन साहले ओलीकै गढमा कडा चुनौती दिएपछि ओली थप कमजोर बन्दै गएका छन् । ओलीका कारण झापाका अन्य क्षेत्र पनि एमालेले जित निकाल्न कठिन देखिएको छ । झापामा ओली र बालेनको मात्र चर्चा छ । अन्य क्षेत्रमा एमाले उम्मेदवारहरू गुमनाम छन् ।

यसले गर्दा ओलीले आफू मात्र होइन एमालेको धरातल धराशयी बनाउँदै लगेका छन् भन्ने पुष्टि हुन्छ । एमालेका नेता तथा कार्यकर्ताले यतिबेला ओली आफ्नो क्षेत्रमा नआए हुन्थ्यो र सुरेन्द्र पाण्डे र योगेश भट्टराई जस्ता नेतालाई चुनाव प्रचार गर्न पठाए हुन्थ्यो भनिरहेका छन् ।

लामो समय सत्ताको केन्द्रमा रहँदै आएको एमाले आज आफ्नै कमजोरी, अहंकार र आत्मसमीक्षाको अभावका कारण अस्तव्यस्त बन्दै गएको भन्ने विषयमा ओलीको निर्वाचन क्षेत्रमा रक्षात्मक बनेको अवस्थाबाट प्रस्ट हुन्छ । एमालेको संकटको केन्द्रमा अध्यक्ष ओलीको नेतृत्व र कार्यशैली हो । साथै, उनको वरिपरि परिक्रमा गर्ने नेताहरूको समूहपनि उत्तिकै जिम्मेवार रहेको छ ।

पार्टीभित्र बहस, आलोचना र वैचारिक छलफलका ठाउँ क्रमशः बन्द हुँदै गएका छन् । फरक मत राख्ने नेतालाई ‘दुस्मन’ ठान्ने प्रवृत्तिलाई मलजल गरियो । केही सीमित व्यक्तिले बन्द कोठामा निर्णय समानुपातिक उम्मेदवार छान्नेदेखि, प्रत्यक्षतर्फ टिकट वितरण गर्ने प्रक्रियाले कार्यकर्तालाई केवल कार्यान्वयनकर्ता बनाउने अभ्यासले पार्टीको लोकतान्त्रिक चरित्र नै खण्डित गरेपछि पार्टी अहिले एक ढिक्का बन्न सकेको छैन ।

अहिलेको निर्वाचनमा अधिकांश कार्यकर्ताहरू मतदान गर्न जाने अवस्थामा छैनन् । पार्टीको माया भएका तर ओलीको अंहकारलाई सुन्न नसक्ने कार्यकर्ताहरू मतदान केन्द्रमा नपुग्ने सम्भावना पनि बढ्दै गएको छ ।

एमालेमा अहिलेमा मात्र होइन, जहिलेदेखि ओली पार्टी सत्तामा आए त्यहीबेलादेखि उनले पार्टीभित्र फरक मत राख्नेहरूलाई दमन गर्न थाले । उनकै अहंकारका कारण २०७८ को भदौमा पार्टी विभाजन भयो । त्यो केवल व्यक्तिहरू छुट्टिनु मात्र थिएन । त्यो एमालेभित्रको असन्तोष, असमानता र दमनकारी नेतृत्वको विस्फोट थियो । तर नेतृत्वले त्यसबाट पाठ सिक्नुको साटो अझ बढी निरङ्कुश बन्ने बाटो रोज्यो । अहिलेको चुनावी परिणाममा ओलीको पराजय भएमा एमालेबाट संसदीय दलको नेता को हुने भन्ने बहस सुरु भइसक्यो । यसको मतलब ओलीले जित्ने आशा एमालेले मारिसकेको छ ।

यसबाट पनि यो निर्वाचन एमालेका लागि जीवनमरणको सवाल बनेको छ । ०८४ मा हुने निर्वाचन ओलीकै दमनका कारण ०८२ मा हुँदै छ । यस पटकको निर्वाचनमा एमाले एजेन्डाविहीन बनेको छ । विगतमा गरेका बाचाहरू केही पनि पुरा भएका छैनन् । मतदाताहरूले घरघरमा ग्यासको पाइप, काठमाडौं रिङरोडमा मनोरेल, पाँच वर्षमा पाँच लाख रोजगारी, पानी जहाजको ‘बुकिङ काउन्टर’, केरुङ–काठमाडौं रेल जस्ता विगतका कुरालाई लिएर एमालेकै खिल्ली उडाइरहेका छन् ।

झापा ५ मा आफू हार्ने निश्चित भएपछि उनले नेकपाका संयोजक प्रचण्डलाई फोन गरेर सहकार्य गर्न आग्रह गरेका छन् । त्यसलाई पनि प्रचण्डले अस्वीकार गरेपछि यस निर्वाचन परिणामबाटै ओलीको पतन सुरु भएको समीक्षा एमालेभित्रै गर्न थालिएको छ ।

फागुन २१ गते हुने निर्वाचनमा एमालेको सिंगो संगठन देशै भरी पूरै प्रतिरक्षामा छ । मतदातासामु उत्साह र जाँगर देखाउने कुनै साहस छैन । त्यसकारण सङ्गठनात्मक रूपमा एमाले थाकेको पार्टी बनेको छ । जिल्लादेखि केन्द्रसम्म संरचना कागजमा छन्, तर व्यवहारमा निष्क्रिय जस्तै बनेका छन् । जनतासँग खुलेर मत माग्न सकेका छैनन् । कुनै बेला ओली गएर मत मागिदिए मात्र पनि चुनाव जित्ने अवस्था थियो ।

अहिले ओली जहाँ उभियो त्यहाँ पार्टीको अवस्था शून्यमा पुग्ने तहमा छ । यसो हुनुको कारण नियमित राजनीतिक प्रशिक्षण, विचार निर्माण र जनसंगठनसँगको जीवित सम्बन्ध कमजोर बन्दै जानु हो । एमालेको सङ्गठन अब जनतासँग होइन, सत्ता केन्द्रसँग जोडिएका कारण यस्तो अवस्थामा पुगेको विश्लेषण गरिँदै छ ।

बहुदलीय व्यवस्था र गणतन्त्र प्राप्तिको समयमा पनि एमाले धेरै पटक सत्तामा बसेको इतिहास छ । एमालेबाट मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल केपी ओलीले सरकारको नेतृत्व गरेका थिए । मनमोहन अधिकार २०५१–मंसिरदेखि २०५२–भदौसम्म माधवकुमार नेपाले . २०६६जेठ देखि २०६७माघसम्म, झलनाथ खनालले वि.सं. २०६७ माघदेखि २०६८भदौसम्म र केपी ओलीको पहिलो कार्यकाल २०७२ असोजदेखि भदौसम्म थियो । त्यसयता ओली सधैँ सत्ताको खेलाडीको रूपमा रहे । केन्द्रीय राजनीतिमा ओलीको शक्ति आर्जन हुँदै गयो । जसले गर्दा ओलीलाई समकालीन राजनीतिमा दम्भी र अहंकारी बनायो ।

अहिले हुने चुनावी गतिविधिहरूले पनि एमालेको कमजोर अवस्था स्पष्ट देखाइदिएका छन् । कतिपय क्षेत्रमा पार्टीको गतिविधि नै हुन सकेका छैनन् । जनताले अहिले केवल अंकगणितीय हार मात्र होइन, एमालेभित्रको अहंकारी प्रवृत्तिकै अवशासन जरुरी देखेका छन् ।

एमालेप्रति घट्दो जनविश्वासले त्यहीभित्रका इमानदार नेताहरू समेत प्रभावित भएका छन् । सहरी युवा, शिक्षित वर्ग र मध्यमवर्गीय मतदातामा एमालेप्रतिको आकर्षण तीव्र रूपमा घटेको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ जस्ता नाराहरू व्यवहारमा अनुवाद हुन नसक्दा ती अब खोक्रा जस्ता लाग्न थालेका छन् । ओलीले सरकारमा हुँदा जनताको अवमूल्यन गर्ने, प्रतिपक्षी दलहरूलाई हेप्ने र समग्र राजनीति नै आफ्नो हातमा रहेको आभास दिलाउँदा उनी आफू मात्र होइन एमालेको संगठनलाई समेत धराशयी बनाउँदा अहिले एमालेप्रतिको जनविश्वास गुमेको एमालेभित्रका नेताहरूको भनाई छ । राजनीतिक परिवर्तनको गतिलाई बुझ्न नसक्दा एमाले पछाडि परेको छ ।

दोस्रो पुस्ताको नेतृत्वलाई निरन्तर उपेक्षा गर्नु एमालेको अर्को गम्भीर कमजोरी हो । युवा नेताहरूलाई केवल प्रचारका लागि प्रयोग गर्ने र निर्णयमा पहुँच नदिने अभ्यासले पार्टीभित्र पलायन गराइरहेको छ । जसले नयाँ विचार, नयाँ ऊर्जा र नयाँ भाष्यको सम्भावनालाई नियन्त्रणमुखी बनाएको छ ।

सरकारमा हुँदा पनि एमालेले जनअपेक्षा अनुसार सुशासन, रोजगारी, मूल्यवृद्धि नियन्त्रण र सेवा प्रवाह सुधारमा ठोस काम गर्न सकेन । सत्ता त पायो, तर शासन गर्न नसकेको आरोप एमालेमाथि गम्भीर रूपमा लाग्दै आएको छ । यही असफलता अहिले राजनीतिक रूपमा महँगो साबित भइरहेको छ ।

एमालेका नेताहरू संकट अस्थायी भएको दाबी गर्छन् । तर आत्मसमीक्षाविना, नेतृत्वमा परिवर्तनविना र वैचारिक पुनर्निर्माणविना संकट समाधान हुँदैन । आज एमालेलाई चाहिएको सुधार होइन, रूपान्तरण हो भन्ने तथ्य ओलीले आत्मसाथ गर्न सकेका छैनन् । एमालेले अझै पनि आलोचनालाई दुस्मनी ठान्ने मानसिकतामा अघि बढिरह्यो भने पार्टी क्रमशः इतिहासको फुटनोटमा सीमित हुने खतरा छ । त्यसको प्रतीक्षाको घडी फागुन २१ को निर्वाचन परिणाम नै हो ।

प्रतिक्रिया दिनुहोस्