
काठमाडौं । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसर पारेर एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर’ (एसआईटी) कार्यक्रमको शुभारम्भ गरेका छन् । विद्यार्थीहरूलाई डिजिटल सुरक्षा र साइबर सचेतना प्रदान गर्ने उद्देश्यले मङ्गलवार पोखराबाट यस अभियानको औपचारिक घोषणा गरिएको हो ।
यो सामाजिक अभियानले देशभरका विद्यालयमा पुगेर साइबर सुरक्षा, डाटा गोपनीयता र डिजिटल सुरक्षाका विविध पक्षहरूबारे शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ । यस कार्यक्रमबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा अभिभावकहरू लाभान्वित हुने एनसेल फाउन्डेसनले अपेक्षा गरेको छ ।
हाल नमुना परियोजनाका रूपमा सुरु गरिएको यो कार्यक्रम बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयमा केन्द्रित हुनेछ । कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिने सत्रहरूमा इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तकसमेत वितरण गरिनेछ । पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयन भएपछि आगामी आर्थिक वर्षदेखि यो अभियान अन्य प्रदेशहरूमा पनि विस्तार गरिने योजना रहेको छ ।
यस वर्षको सुरक्षित इन्टरनेट दिवसको नारा ‘स्मार्ट टेक, सेफ चोइसेस्ः एक्सप्लोरिङ द सेफ एन्ड रेस्पोन्सीबल युज अफ एआई’ रहेको छ । सोही नारालाई सार्थक बनाउन पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले विद्यार्थीहरूलाई कृत्रिम बौद्धिकता (एआई) को जिम्मेवार प्रयोग र डिजिटल सुरक्षाबारे जानकारी दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ फोलेले भने, ‘प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ, त्यसैले यसका जोखिमहरू बुझ्न र सुरक्षित रहन आवश्यक छ । यो कार्यक्रमले नयाँ पुस्तालाई डिजिटल अवसरहरूको सुरक्षित र आत्मविश्वासका साथ उपयोग गर्न सघाउनेछ ।’
त्यस्तै, नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदन पौड्यालले वर्तमान समयमा डिजिटल साक्षरता र साइबर जागरण वित्तीय साक्षरता जत्तिकै महत्त्वपूर्ण भएको बताए । उनले यस सहकार्यले विद्यार्थीहरूलाई आफ्नो डिजिटल पदचिह्न संरक्षण गर्न र सुरक्षित रूपमा प्रविधिको प्रयोग गर्न व्यावहारिक ज्ञान दिने विश्वास व्यक्त गरे ।
यो कार्यक्रमको कार्यान्वयन साझेदारका रूपमा एस्टेरिस्क टेक्नोलोजी रहेको छ । हालसम्म कास्कीका ६ वटा, ललितपुरका २ वटा र भक्तपुरको १ विद्यालय गरी ९ वटा विद्यालयमा सत्रहरू सञ्चालन भइसकेका छन् । यी प्रारम्भिक सत्रहरूबाट ७ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेको एनसेल फाउन्डेसनले जनाएको छ ।











