Logo
Logo

तीन साहित्यिक कृति लोकार्पण


- दृष्टि न्युज/संवाददाता


लन्डन, १६ कात्तिक । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनमा भर्चुअल माध्यमबाट वरिष्ठ समालोचक प्रा.डा. गोविन्दप्रसाद भट्टराईले नेपालका वासुदेव अधिकारीको ‘वस्तीमा आगो’, अमेरिकामा बसोबास गर्ने साहित्यकार भारती गौतमको ‘विगत र बाडुली’ र बेलायतका डा. उपाध्यायको ‘जदौ काठमान्डू’को सामूहिक लोकार्पण गरेका छन् ।

लोकापर्णपश्चात बोल्दै प्रा. भट्टराईले नेपाल बाहिर बसोबास गरिरहेका नेपाली साहित्यकारका डायस्पोरिक साहित्यले नेपाली साहित्यलाई समृद्ध बनाइरहेको र त्यहाँबाट राम्रा साहित्यिक कृतिहरु प्रकाशन भइरहको बताए । उनले प्रवासमा रहेका नेपाली लेखक, साहित्यकारहरुलाई कलम चलाइरहन आग्रह गरे ।

समीक्षक डा. विदुर चालिसेले भारती गौतमको कृति ‘विगत र बाडुली’मा संवेदनात्मक यथार्थ घटनाको प्रस्तुती रहेको बताए । विमोचित कृति ‘बस्तीमा आगो’को समीक्षा गर्दै डा. लेखप्रसाद निरौलाले अधिकारीको कृति लकडाउनका बेलाको जीवन्त संस्मरणको रुपमा आएको बताए ।

अर्का समीक्षक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले ‘जदौ काठमान्डू’ मा कविले बेलायतको परिवेश र सन्दर्भ राम्रोसँग उजागर गरेको बताए । यो कविता संग्रह भाव, अनुभूति र विचारका विविधतामय अभिव्यक्तिको संग्रह हो, गौतमले भने ।

कवि वासुदेव अधिकारीले आफ्नो कवितासङ्ग्रह ‘बस्तीमा आगो’ लकडाउनको बेला लेखिएको काव्यिक डायरी हो भने । अमेरिका निवासी साहित्यकार भारती गौतमले आफ्नो जीवनको खुशी र वियोगलाई अक्षरमार्फत ‘विगत र बाडुली’मा व्यक्त गरेको कुरा बताए । कवि कृष्ण उपाध्यायले आफ्नो पहिलो कृति ‘प्रथम पुरुष’ पाठकले रुचाइदिएकाले आफूले आफ्ना फुटकर कविताहरु समेटेर दोश्रो कृति ‘जदौ काठमान्डू’ प्रकाशन गरेको बताए ।

उक्त कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, डा. सावित्री श्रेष्ठ, छविरमण सिलवाल, विश्वराज अधिकारी, जीवेन्द्रदेव गिरी आदिले बोलेका थिए । यादव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्ष समकालीन साहित्य प्रतिष्ठान, बेलायतका अध्यक्ष तथा नियात्राकार कृष्ण बजगाईँले सन् २०१४ मा स्थापित प्रतिष्ठानले प्रवासन अनुसन्धानमूलक अर्धवार्षिक साहित्यिक जर्नल, समकालीन साहित्य डटकम र साहित्यिक पुस्तकहरु प्रकाशन गरिरहको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्