काठमाडौं । नेकपा एमालेका सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा। राजन भट्टराईले भदौ २३ र २४ को घटनाका दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन् । भट्टराईले दुवै दिनको घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताए ।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले जेनजी पुस्ताले उठाएका जायज मागको विपक्षमा नेकपा एमाले नरहेको बताउँदै दुवै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन् ।
उनले भने,‘भदौ २३ गते बिहान शान्तिपूर्ण भेला भएर दिउँसो मानिसहरू एभरेस्ट होटल पुग्दासम्म राखेका मागको हामीले स्यालुट गर्नुपर्छ । युवा पुस्ताले राखेका मागमा हाम्रो विमति थिएन । जब निषेधित क्षेत्र तोडेर सिधै संसद् भवनमाथि आक्रमण र आगजनी गरियो त्यहाँबाट छानबिन गरौँ ।’
नेता भट्टराईले त्यसरी गरिने छानबिनमा नेकपा एमालेको जुनसुकै तहको नेता दोषी भए पनि त्यो दोष भोग्न तयार रहेको बताए । ‘त्यो छानबिनमा जो जो दोषी छन् । त्यसभित्र नेकपा एमालेको कुनै तहको कोही नेता पनि दोषी छ भने हामी त्यसको दोष भोग्न तयार छौ । तर छानबिन निष्पक्ष हुनुपर्छ’, भट्टराईले भने, ‘ती अबोध बालबालिका जसलाई शान्तिपूर्ण आन्दोलन हुन्छ भनेर त्यहाँ लगियो र पछि ढाल बनाएर प्रयोग गरियो ।’
उनले योजनाबद्ध र पूर्व तयारी गरेर २३ गतेको घटना गराएर २४ गते विध्वंस मच्चाउने कार्य भएको दाबी गरेका छन् ।











