Logo
Logo

झापा र सुर्खेतमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


झापा, १६ कात्तिक । कोरोना भाइरसको संक्रमणबाट आज बिहान झापामा थप तीन जना र सुर्खेतमा एक गरी चार जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक–एक जना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय बस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । शनिबार मात्रै उपचारका लागि नोबेल पु¥याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै संक्रमण पुष्टि आएको थियो । यससँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

कमल गाउँपालिका–५ मंगलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ । मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा संक्रमण पुष्टि भएको थियो । केही दिनयता उहाँ होम आइसोलेसनमा बसेका थिए । यससँगै कमलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताए ।

त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा मृत्यु भएको छ । कात्तिक १३ गते संक्रमण पुष्टि भएको उनी घरैमा उपचाररत थिए । यससँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

त्यसैगरी प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ का ३२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीका अनुसार कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि शनिबार राति १० बजे अस्पताल भर्ना गरिएका ती बिरामीको ११ बजे मृत्यु भएको हो । दशैँको सप्तमीको दिनमा उच्च ज्वरो आएपछि छिन्चुमा उनको प्रारम्भिक उपचार भएको थियो । ज्वरो कम नभएपछि त्यहाँबाट कोहलपुर रेफर गरिएको बताइएको छ । ती युवकको तीन दिनअघि कोरोना परीक्षण गरिँदा रिपोर्ट पोजेटिभ आएको थियो । यससँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । प्रदेशभर संक्रमितको संख्या पाँच हजार ८५३ रहेको छ भने चार हजार ९५८ जना कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्