काठमाडौं । बङ्गलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत ल्याएको छ । यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने भएका छन् ।

बङ्गलादेशका कुल ३०० मध्ये २९९ सिटमा बिहीबार निर्वाचन भएको थियो । शेरपुर–३ क्षेत्रमा एक उम्मेदवारको मृत्यु भएपछि त्यहाँको मतदान स्थगित गरिएको थियो ।
२९९ सिटमध्ये २०६ सिटको नतिजा आउँदा बीएनपीले १६५ सिट जितेको छ । बीएनपी अध्यक्ष तारिक रहमानले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका थिए र दुवैमा विजयी भएका छन् । रहमान गत वर्ष डिसेम्बरमा १७ वर्षपछि स्वदेश फर्किएका थिए ।
जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट जितेको छ । जमात प्रमुख शफीकुर रहमानले ढाका–१५ निर्वाचन क्षेत्रबाट जित हासिल गरेका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारले ३ सिट जितेका छन् ।
करीब दुई दशकदेखि सत्ताबाहिर रहेको बङ्गलादेश नेशनलिस्ट पार्टी बीएनपीले यस चुनावमा उल्लेखनीय पुनरागमन गरेको छ । बीएनपीले दुई तिहाइभन्दा बढी बहुमत प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ ।
शेख हसिनाले के भनिन् ?
जुलाई २०२४ मा भएको विद्यार्थी विद्रोहपछि बङ्गलादेशमा भएको यो पहिलो राष्ट्रिय चुनाव हो । हिंसात्मक आन्दोलन थेग्न नसकेपछि देश छाडेर भारत गएकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले उक्त पार्टीले भने चुनावमा भाग लिन पाएन ।
हाल भारतमा निर्वासन जीवन बिताइरहेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले यस चुनावलाई पूर्णरूपमा फर्जी र असंवैधानिक भनेकी छन् । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक ढङ्गले सत्ता कब्जा गरेर त्यही आधारमा चुनाव गराएको उनको आरोप छ ।











