Logo
Logo

खानेपानी आयोजनाका काम नसकिँदा नागरिक हैरान


- दृष्टि न्युज/संवाददाता


रुकुम पश्चिम, १६ कात्तिक । समयमै खानेपानी आयोजनाका काम नसकिँदा, रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका क्षेत्रका नागरिकले सास्ती भोगिरहेका छन् । हिउँद सुरु भएपछि स्थानीयलाई पिउने पानीको अभाव हुनसक्ने चिन्ताले सताउन थालेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका–१४ र सानीभेरी गाउँपालिका–१० मा रहेको ग्रामीण सौर्य खानेपानी आयोजनाले पूर्णता नपाउँदा स्थानीय उपभोक्तालाई समस्या भएको हो । आर्थिक वर्ष २०७१÷७२ मा चौरजहारी–१४ मा लुगा धुनेखोला ग्रामीण सौर्य खानीपानी आयोजनाको निर्माण थालिएको थियो । तर आयोजना समयमै निर्माण नहुँदा आफूहरुलाई समस्या भएको स्थानीय रमित ओली बताउँछन् । पुरानो समितिले काम नगर्दा र नयाँ समितिले मान्यता नपाउँदा आयोजनाको काम रोकिएको स्थानीय बताउँछन् ।

करिब एक करोड खर्च लागेको आयोजना हाल लथालिङ्ग अवस्थामा रहेको छ । आयोजनाको पाइप लाइन विस्तारसँगै विभिन्न पाँच ठाउँमा ट्याङ्की निर्माण तथा मिटर जडानको काम मात्रै सकिएको छ । उपभोक्ता समिति गठनको माग गर्दा सुनुवाइ नभएको स्थानीयको भनाइ छ । बलियो उपभोक्ता समिति नहुँदा आयोजना अलपत्र परेको उनीहरुको भनाइ छ ।

चौरजहारी–१४ र १३ का करिब १०० र सानीभेरी–१० का ५० घरधुरीमा पानी पु¥याउने लक्ष्यसहित शुरु भएको आयोजना अलपत्र परे पनि अब छिट्टै सुरु गर्न पहल गर्ने बताउनुहुन्छ निर्माण समितिका सचिवसमेत रहनुभएका चौरजहारी नगरपालिका–१४ का वडाध्यक्ष अतिराम विष्ट । घर घरमा पानी आउला र दैनिकी चलाउन सहज होला भन्ने आशामा रहेका नागरिक जिम्मेवार निकायको बेवास्ताका कारण आजित भइसकेका छन् । तत्काल खानेपानी आयोजना निर्माणको पहल नभए हिउँदको समयमा पिउनेपानीको चरम अभाव हुनसक्ने स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्