Logo
Logo

मदिराले बढायो महिला हिंसा


- दृष्टि न्युज/संवाददाता


बाजुरा, १६ कात्तिक । कोरोना भाइरसको महामारीका कारण नियमित गर्दै आएको काम गुमाउनेहरु बढिरहेका छन् । काम नभएको कारण पुरुषहरुले मदिरा सेवन गर्ने र घरका महिला सदस्यहरुमाथि हिंसा गर्ने क्रम पनि बढ्दै गएको छ । एक त कोरोना महामारीका कारण गाउँमा पर्याप्त काम छैन । अर्को चाडबाडको समय छ ।

पुरुषहरु दिनभर फुर्सदमा रहेकाले मदिरा पिउने र होहल्ला गर्ने क्रम बढेको छ । यस्तो क्रियाकलापले किशोरीहरुलाई बढी जोखिममा पारेको त्रिवेणी नगरपालिका निर्मला ऐडीले बताइन् । दिनभरि मदिरा सेवन गरेर साँझ घरमा आइ बालबच्चा र श्रीमतीलाइ कुटपिट गर्ने क्रम पनि बझाङमा बढेको अर्का किशोरी सम्झना रावल बताउँछिन् ।

काम गर्न सक्ने उमेरका पुरुषहरु जुवातास र मदिरा सेवनमा भुलेपछि गाउँमा बिकास निर्माणको कामले पनि गति लिन सकेको छैन । घरमा श्रीमानको कुटाइ र हिंसा सहन नसकि ज्यानको सुरक्षा र न्यायको माग गर्दै सुरक्षित आवासमा आउनेहरु पनि बढेको बताउँछिन् सुरक्षित आवासगृहका मनोसामाजिक परामर्शकर्ता सन्तोषी थापा ।

जिल्ला प्रहरी कार्यालय बाजुरामा चैत यता घरेलु हिसां १७ वटा, लैंगिक हिंसा र सामाजिक हिंसाका ९ वटा ठाडो उजुरी दर्ता भएका छन् । हिंसा भएर पनि प्रहरीमा उजुरी नगर्नेहरु पनि उत्तिकै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए । मदिरा सेवनले बाजुरासहित सुदूरपश्चिमका जिल्लामा विभिन्न किसिमका हिंसा बढिरहेको छ । मदिरालाई मात्रै व्यवस्थापन गर्ने हो भने महिला र बालबालिका सुरक्षित हुने सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्