Logo
Logo

बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुल्यो


- दृष्टि न्युज/संवाददाता


बैतडी, १७ कात्तिक । केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ । विवादपछि गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो ।

जनप्रतिनिधि र स्थानीय संघर्ष समितिबीच आइतबार अपराह्न भएको सहमतिपछि ताला खुलेको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिए । उनले भने, ‘गाउँपालिकामा लामो समयदेखि तालाबन्दी खुलेपछि सोमबारदेखि कामकाज सञ्चालन हुने भएका छन् ।’ जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष विष्ट, वडा नं ५ का कार्यवाहक वडाध्यक्ष धनबहादुर मडै र संघर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहारलगायतको सहभागितामा छलफल भएको थियो ।

तत्कालका लागि साविककै ठाउँबाट काम सञ्चालन गर्ने र केन्द्रका विषयमा सर्वपक्षीय, सर्वदलीय छलफलबाट टुंगो लगाउने सहमतिसहित ताला खुलेको उपाध्यक्ष विष्टले जानकारी दिए । गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा गत असोज २८ गते झडपसमेत भएको थियो । सो झडपमा गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टसहित १४ जना घाइते भएका थिए ।

गाउँपालिकाले पबितामा केन्द्र सार्न लागेको भन्दै स्थानीयवासीले संघर्ष समिति बनाएर गाउँपालिकामा तालाबन्दी गरेका थिए । असोज २८ गते ताला खोल्ने क्रममा अध्यक्ष विष्टसहितका व्यक्तिमाथि ढुंगा प्रहार भएको थियो । हाल गाउँपालिकाको वडा नं ५ कठेगौडमा गाउँपालिका कार्यालय रहेको छ । उक्त कार्यालय सोही वडाको पबिता सार्ने निर्णय गाउँपालिकाले गत वर्ष नै गरेको थियो । स्थानीयवासीले केन्द्रका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले केही निर्णय नगर्न माग गरेका छन् ।

यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पनि भएको सर्वपक्षीय छलफलबाट ताला खोल्ने निष्कर्ष निकालेको थियो । सुर्नया गाउँपालिकाका जनप्रतिनिधि, प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति नरेन्द्र थापा, नेकपाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागितामा बसेको बैठकले ताला खोल्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्