
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको ‘करार पत्र’ यतिबेला चर्चामा छ । रास्वपा सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत उक्त करार पत्र सार्वजनिक गरेका थिए ।
जसमा पत्रको अन्त्यमा ‘ऋणीको दस्तखत’ भनिएको ठाउँमा दायाँ र बायाँ हातको औँठाछाप जस्तो देखिने दुई ओटा आकृति राखिएका छन्, जसले अहिले धेरैको ध्यान खिचेको छ ।
सानो आकारमा रहेका ती फिङ्गरप्रिन्ट कसका हुन् ? र त्यहाँ के छ भन्नेबारे सामाजिक सञ्जालमा विभिन्न जिज्ञासा र अड्कलबाजी भइरहेका छन् । करार पत्रमा ती आकृति स्पष्ट देखिँदैनन् । जुम गर्दा पनि त्यसमा के छ भन्ने प्रस्ट देखिँदैन । तर, उक्त फिङ्गरप्रिन्ट कुनै व्यक्तिको वास्तविक औँठाछाप नभएर पार्टीका मुख्य सिद्धान्त र एजेन्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको एक ग्राफिक डिजाइन हो ।
यसअघि रास्वपाले सार्वजनिक गरेको एक छोटो भिडिओमा करार पत्रलाई ‘ब्लर’ गरेर देखाइएको भए पनि औँठाछाप जस्तो देखिने ती आकृतिलाई भने प्रस्ट देखाइएको थियो । वास्तवमा ती औँठाछापभित्र पार्टीको राजनीतिक, आर्थिक, सामाजिक र परराष्ट्र नीतिसँग सम्बन्धित मुख्य प्रतिबद्धता सूक्ष्म अक्षरमा लेखिएका छन् ।
यस्ताे छ उक्त आकृतिभित्र रहेका सामग्री-
राजनीतिः बहुलवादी लोकतन्त्र, विधिमा बाँधिएको जवाफदेही असल शासन, वैयक्तिक स्वतन्त्रता, मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरण, तहगत अधिकार निक्षेपण र सुधारिएको प्रदेश संरचना ।
अर्थतन्त्रः सामाजिक न्यायसहितको उदार अर्थनीति, उद्यममैत्री, लगानी–अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्र, राष्ट्रिय आय र रोजगारी वृद्धि, सुदृढ नियमनकारी संरचना, जलवायु–पर्यावरणीय सन्तुलन, लोककल्याणकारी राज्य ।
समाजः समन्यायात्मक समावेशीता, संरचनात्मक विभेद (लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय) विरुद्ध अवसरको न्यायिक वितरण, पहुँच र उपयोग, समतामूलक उन्नति ।
संस्कृतिः सनातन सभ्यताको सम्बद्र्धन, धार्मिक–सांस्कृतिक विविधताको जगेर्ना, पारस्परिक सम्मान र सहअस्तित्व ।
परराष्ट्रः ‘सौम्य शक्ति’को विस्तार, डायस्पोराको सामूहिक सामथ्र्यको उपयोग, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको रक्षा ।













