Logo
Logo

नेपालले १६ युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न पठायो प्रस्ताव


630
Shares

काठमाडौं । नेपाल सरकारले नेपाली श्रमिकका निम्ति राम्रो आयआर्जन र मानव अधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तीव्र पारेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएसिया, माल्टालगायत १६ युरोपेली मुलुकसँग श्रम सम्झौताका निम्ति औपचारिक प्रस्ताव पठाएको छ । श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेले राम्रो वातावरण भएका देशमा नेपालीलाई रोजगारीका निम्ति पठाउन श्रम सम्झौताका निम्ति गृहकार्य भइरहेको बताए ।

परराष्ट्र मन्त्रालय र नेपालका सम्बन्धित दूतावासहरूले पनि यी मुलुकसँग छलफल तथा पहल अघि बढाइरहेका छन् ।सम्झौताको खाका र अनुरोधसहित प्रस्ताव पठाइएको बताउँदै उनले छिट्टै परिणामुखी सम्झौता हुने बताए ।

‘खासगरी पूर्वी युरोपका मुलुकहरूमा, १६ वटा मुलुकसँग दुईपक्षीय श्रम सम्झौता गर्न प्रस्ताव पठाएका छौँ । अहिले रोमनियाबाहेक अरू हुन सकिरहेको छैन । यो प्राथमिकतामा छ,’ उनले भने, ‘सम्झौताको प्रस्तावसहित अनुरोध गरिरहेका छौँ ।

हाल क्रोएसिया, माल्टासहितका देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपाली गएका उनले जानकारी दिए । ‘क्रोएसिया, माल्टासहितका १६ वटा युरोपेली मुलुकसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको छ । जहाँ व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरू गएका पनि छन्,’ उनले भने, ‘ती देशसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको छ ।’

पछिल्ला वर्षमा युरोपेली मुलुकहरू विशेष गरी रोमानिया, क्रोएसिया, पोल्यान्ड, माल्टा, साइप्रस, पोर्चुगल नेपालीका निम्ति वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बनेका छन् ।

यी देशमा नेपाली कामदारको संख्या बढ्दो छ । तर, श्रम सम्झौता नहुँदा ठगी, शोषण र असुरक्षाको जोखिम रहँदै आएको छ । रोमानियासँग भने केही वर्षअघि नै श्रम सम्झौता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्