
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर हिमाली जिल्ला मुगुमा चुनावी चहलपहल तीव्र बनेको छ । विशेषगरी पुराना र अनुभवी राजनीतिक शक्तिहरूबीच कडा प्रतिस्पर्धा हुने चर्चाले जिल्लाको चुनावी माहोल तातेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा यसपटक ३६ हजार ३१ जना मतदाता छन्, जसका लागि चार स्थानीय तहमा ६७ मतदानस्थल र ७९ मतदान केन्द्रहरू तोकिएका छन् ।
निर्वाचनका लागि चुनावी मैदानमा नेपाली कांग्रेसबाट खड्गबहादुर शाही, नेकपा (एमाले)बाट पूर्णबहादुर रोकाया र नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाही मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटा, नेकपा (माओवादी) का रङ्गवीर परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ल र प्रगतिशील लोकतान्त्रिक पार्टीका एटन मल्ल पनि प्रतिस्पर्धामा उत्रिएका छन् । रास्वपाका उम्मेदवार टमाटाले आफूलाई नयाँ अनुहारका रूपमा प्रस्तुत गरिरहँदा अन्य स्थापित दलका नेताहरूले पनि आ–आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै मतदाता फकाउन व्यस्त छन् ।
चुनावी मैदानमा रहेका उम्मेदवारहरूको पृष्ठभूमि पनि रोचक छ । विसं २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा पराजित कांग्रेसका खड्गबहादुर शाही यसपटक प्रतिनिधिसभा सदस्यका लागि भाग्य अजमाउँदै छन् । एमाले उम्मेदवार पूर्णबहादुर रोकाया निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख हुन् । उता नेकपाका चन्द्रबहादुर शाही भने २०५६ सालको संसदीय निर्वाचनमा विजयी हुनुका साथै २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएर कर्णाली प्रदेश सरकारमा कृषि तथा सहकारी मन्त्री भइसकेका अनुभवी नेता हुन् ।
विगतको मत परिणामलाई हेर्दा मुगुमा दलहरूबीचको मतान्तर निकै कम देखिन्छ । विसं २०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले आठ हजार ६४३ मत ल्याएर पहिलो भएको थियो भने कांग्रेस आठ हजार ४४० मतसहित दोस्रो स्थानमा थियो । सोही समयमा माओवादी केन्द्रले चार हजार ६५० र एकीकृत समाजवादीले दुई हजार ६१२ मत प्राप्त गरेका थिए । हाल माओवादी र समाजवादीबीच एकता भएर ‘नेकपा’ बनेकाले यो शक्ति पनि मुख्य प्रतिस्पर्धामा रहने देखिन्छ ।
यसअघि २०७९ को निर्वाचनमा ७४ प्रतिशत मतदान भएको मुगुमा प्रत्यक्षतर्फको परिणाम भने फरक थियो । त्यतिबेला माओवादी, एकीकृत समाजवादी र कांग्रेसबीच गठबन्धन हुँदा कांग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत प्राप्त गरी विजयी भएका थिए भने एमालेका राजबहादुर कार्कीले १० हजार ७१० मत ल्याएका थिए । यसपटकको बदलिएको राजनीतिक समीकरण र चुनावी चहलपहलले मुगुको नतिजा कता जान्छ भन्ने कौतुहलता झन् बढाएको छ ।












