Logo
Logo

देश सम्हाल्ने स्पष्ट योजना काँग्रेससँग मात्र छ : सचिन तिमल्सिना


126
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बार ४ का नेपाली काँग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले देशलाई सम्हाल्ने र रूपान्तरण गर्ने जिम्मेवारी तथा हक नेपाली काँग्रेससँग मात्र रहेको दाबी गरेका छन् ।

काठमाडौंमा बुधवार आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै तिमल्सिनाले युवाहरूले उठाएका सुशासन र विश्वसनीयतासम्बन्धी प्रश्नहरूलाई पार्टीले आत्मसात गरेको बताए ।

‘हामीले जनआन्दोलनको भावना स्वीकार गर्दै ठूलो राजनीतिक जोखिम मोलेर पार्टीलाई रूपान्तरण गरेका छौँ । रूपान्तरण मात्र होइन, पुस्तान्तरण समेत गरेर आएका छौँ,’ उनले भने।

नेपाली काँग्रेससँग ‘समुन्नत नेपाल निर्माण’ को स्पष्ट योजना रहेको भन्दै उनले सत्ता प्राप्तिपछि ठोस काम गर्ने अवधारणा पनि पार्टीसँगै मात्र रहेको दाबी गरे ।

तिमल्सिनाले नीति निर्माण जटिल प्रक्रिया भएको उल्लेख गर्दै त्यसका सूक्ष्म पक्षमा गहिरो छलफल आवश्यक पर्ने बताए । ‘नीति निर्माण कम्प्लिकेटेड कुरा हो, यसमा माइन्युट तहसम्म बहस हुनुपर्छ र जनतालाई बुझाउन मेहनत गर्नुपर्छ,’ उनले भने।

उनले पछिल्लो समय विश्वभर फैलिएको पपुलिज्मप्रति चिन्ता व्यक्त गर्दै एक लाइन समाधान प्रस्तुत गरेर जनतालाई भ्रमित गर्ने प्रवृत्ति बढ्दो रहेको बताए । ‘पपुलिज्मले देश निर्माणको जटिल प्रक्रियालाई बेवास्ता गर्छ र दोष अरू समूह वा व्यक्तिमाथि थोपर्छ,’ उनले भने।

तिमल्सिनाले यस्तो प्रवृत्तिबाट बौद्धिक समुदाय सबैभन्दा बढी प्रभावित हुने दाबी गर्दै गम्भीर, तथ्यमा आधारित राजनीतिक बहस आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्