Logo
Logo

भुँमरीमा नेकपा


- दृष्टि न्युज/संवाददाता


दुईतिहाइको सरकार प्रमुख केपी शर्मा ओली संवैधानिक हिसाबले हेर्ने हो भने विपी कोइरालापछिका शक्तिशाली प्रधानमन्त्री हुन् । पार्टीभित्र बलियो एकता कायम हुँदासम्म उनलाई कुनै पनि आँधी, बेहरीले ढाल्न सक्दैन । यसर्थ, दुईवटा पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा फुट होइन, एकताको खाँचो छ । तर, अहिले सञ्चारमाध्यममा जे जस्ता कुरा आएको छ, त्यसले नेकपा विघटनको संघारमा पुगेको निष्कर्ष जो कोहीले निकाल्न सक्छ ।

राष्ट्रिय सभागृहमा आयोेजित कार्यक्रममा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने सहमतिपत्रको आदानप्रदान गर्नुहुँदै । फाइल तस्बिर

यदि सञ्चारमाध्यममा आएका सूचनाहरु सत्य हुन् भने ढिलो चाँडो नेकपा कहिले नजुट्ने गरी फुट्ने छ । नेकपाको फुटले कसैको पनि भलो गर्दैन । पक्कै पनि यो कुरा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नबुझेका होइनन् । तर, ओली र प्रचण्डबीच फुट ल्याएर आफ्नो स्वार्थपूर्ति गर्ने गुट नेकपामा हाबी भएकोले ओली भुँमरीमा फसेका छन् । त्यो भुँमरीबाट ओली नउम्कँदासम्म हल्ला, शंका र हठको आँधीबेहरीले नेकपालाई हल्लाइरहने छ । ओलीको कमजोरीलाई समाएर आफ्नो स्वार्थपूर्ति गर्ने आफ्नै वरपरका मानिसबाट ओली जोगिन सकेनन् भने उनको पतनको दिनगन्ती सुरु हुनेछ । माओवादीसँग पार्टी एकता गरेर चुलिएको उनको छवि हिउँजस्तै पग्लिएर पानी बन्नेछ । र, फेरि हिउँ बन्न उनलाई समय लाग्नेछ । जुन समय उनको बाँकी जीवनमा फर्किएर आउन सक्दैन ।

पार्टी एकता गर्दा ओली र प्रचण्डबीच भएका सहमति कार्यान्वयन नै पार्टी जोगाउने मूल आधार हो । त्यसमाथि पार्टी एकता जोगाउन प्रचण्डले हदैसम्म लचकता देखाएका छन् । नेकपा छाडेर अब प्रचण्डको जाने ठाउँ पनि कहीँ छैन । त्यसैले यदि पार्टी फुट्यो भने प्रचण्ड नेकपामै रहनेछन् भने ओली एमालेमै फर्कने चर्चा पनि गरिँदैछ । यदि यो दुर्भाग्य निम्तियो भने नेकपाको घर मात्र भत्कने छैन, त्यसले अहिलेसम्मका राजनीतिक उपलब्धि पनि गुम्ने छ ।

२०१५ सालमा दुईतिहाइ ल्याएको नेपाली कांग्रेस पार्टीभित्रकै विवादका कारण विघटनको संघारमा मात्र पुगेन, त्यसले राजनीतिक ‘कोर्ष’ नै बदलियो । अहिले पनि नेकपाको दुईतिहाइ सरकार देशी विदेशी तत्वलाई पटक्कै मन परेको छैन । बाहिरबाट नेकपालाई ढाल्न नसकिने भएरै भित्रभित्र विदेशी तत्वहरु खेल्न थालेका हुन् । जुन एक हदसम्म सफल पनि भएका छन् । यो कुरा ओली प्रचण्डले पनि नबुझेका होइनन् । बुझेर बुझ पचाएकै कारण नेपाली जनताले दुईतिहाइ मत दिएर सत्तामा पु¥याएको नेकपाको सरकार आज ढल्ने हो कि भोलि भन्ने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्