Logo
Logo

माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ


1k
Shares

नवलपरासी । नवलपरासीमा चुनावी प्रचारका क्रममा माओवादी केन्द्रका उम्मेदवार तथा कार्यकर्तामाथि कुटपिट गर्ने घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका-१३ का ३१ वर्षीय अजय गौतम रहेका छन् । अन्य दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटना बर्दघाट नगरपालिका-१२ स्थित जमुनिया बजारमा भएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले चुनावी प्रचारप्रसार कार्यक्रम गरिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू पुगेका थिए। उनीहरूले ‘रास्वपाको क्षेत्रमा प्रचार गर्न आएको’ भन्दै माओवादी उम्मेदवार राजुप्रसाद हरिजनसहित कार्यकर्ताहरूमाथि कुटपिट गरेका थिए । 

कुटपिटबाट घाइते हुनेमा उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे रहेका छन् । उम्मेदवार हरिजनले ‘घण्टीको एरियामा आएर प्रचार गरेको’भन्दै कुटपिट भएको बताएका छन् । पक्राउ परेका गौतममाथि थप अनुसन्धान भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठले सबै दल तथा उम्मेदवारहरूलाई निर्धक्क भएर चुनावी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । रास्वपा नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम खनालले यस्ता घटना दुखद रहेको बताउँदै आफ्ना कार्यकर्ता संलग्न भएरनभएको छानबिन हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्