Logo
Logo

आसन्न निर्वाचन र बुद्धिजीवी पेशाकर्मीहरूको भूमिका


प्रेमलकुमार खनाल

2.5k
Shares

मुलुकमा राजनीतिक, आर्थिक संकट उत्पन्न भएको बेला प्रतिनिधिसभाको निर्वाचन आगामी फाल्गुन २१ गते हुँदैछ । यो निर्वाचन राजनीतिक अस्थिरता अन्त्य गर्ने एउटा माध्यम पनि हो । अतः यस्तो परिस्थितिमा निर्वाचनका माध्यमबाट राजनीतिक स्थीरता कायम गर्न जनमत निर्माण गर्न बुद्धिजीवी पेशाकर्मीहरूको भूमिका अहं रहेको छ ।

बुद्धिजीवी पेशाकर्मी समाजको चेतनाका बाहक हुन । आफ्नो बौद्धिक श्रम गरेर जीवीका चलाउने बुद्धिजीवी पेशाकर्मीहरू समाजका अन्य मानिसभन्दा विशिष्ट र अब्बल व्यक्ति हुन । बुद्धिजीवीहरूले के कुरा ठीक, के कुरा बेठिक हो भनेर आलोचनात्मक ढंगबाट हेर्ने वुझ्ने, बुझाउने र अध्ययन अनुसन्धान गरेर सहि कुरा जनसमक्ष ल्याउने काम गर्दछन् । यस्ता व्यक्तिहरू नै बुद्धिजीवी हुन् । बुद्धिजीवीहरूले समाजलाई तलाउजस्तो भएर बस्न दिन हँुदैन । आँफूसँग भएको ज्ञान, बुद्धि जनतासँग वांडन पर्दछ । यति मात्रै होइन देश दुनियाँमा घटेका गलत कुराको खण्डन मण्डन गरेर देशलाई सहि बाटोबाट अगाडि बढाउन भूमिका निवार्ह गर्नु पर्दछ ।

वैज्ञानिक समाजवादका गुरु कार्ल माक्र्सका अनुसार उत्पादनका साधनमाथि स्वामित्व हुने वर्गले मानसिक उत्पादनका साधनलाई पनि नियन्त्रण गर्दछ । माक्र्सले बौद्धिक उत्पादन पनि वर्गीय हुने उल्लेख गरेका छन् । लेनिनले बुद्धिजीवी र जनताको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ भनेर उल्लेख गरेका छन् । लेनिनले बुद्धिजीवी समाजबाट जन्मेको र हुर्केको हुन्छ र ऊ त्यतिबेला मात्र बुद्धिजीवी हुनसक्छ, जब ऊ समाजबाट विचारको निर्माण गर्दै समाजसँग अन्तक्र्रिया गर्छ र उसको विचारले वर्गअनुसारको अभिव्यक्ति दिने गर्दछ ।

इटालीका कम्युनिस्ट पार्टीका नेता तथा माक्र्सवादी विद्वान आन्टिनो ग्राम्सीका अनुसार समाजमा तिन खालका बुद्धिजीवी हुने गर्दछन् । पहिलो बुद्धिजीवी परम्परागत बुद्धिजीवी हुन्छन् । पुँजीवादभित्रबाट निर्मित यो वर्गका बुद्धिजीवीहरू उदयीमान आर्थिक वर्ग वा आर्थिक तथा राजनीतिक रुपले सीमान्तकृत समूहबाट आउने गर्दछन । यिनीहरुले आफ्नो स्वार्थ अनुरुप पुँजीवादलाई समर्थन वा विरोध गर्दछन् ।

दोश्रो वर्गका बुद्धिजीवी प्राविधिक वा प्रशासनिक बुद्धिजीवी हुन्छन् । ठूलो संख्यामा रहेको यो समूहका बुद्धिजीवी दैनिक गतिविधिसँग सम्बन्धित हुन्छन र निश्चित आर्थिक सीमाभित्र केन्द्रित हुने गर्दछन् । यो समूहका बुद्धिजीवी सामान्यतया सत्तासँग नजिक हुन्छन् ।

तेस्रो वर्गका बुद्धिजीवी जैविक अर्गानिक बुद्धिजीवी हुन्छन् । यस वर्गका बुद्धिजीवीहरू आफ्नो पेशाद्वारा निर्धारित नभई उनीहरुको क्षमता, क्षेत्र र परिवर्तन उन्मुख चाहनासँग सम्बन्धित हुने गर्दछन् ।

ग्राम्सीका अनुसार जैविक अर्गानिक बुद्धिजीवीहरु उनीहरू कुनै विशेष वर्ग विशेषगरी शोषित वर्गबाट उदाउँछन् । र, सोही वर्गको हितका लागि वैचारिक सङ्घर्ष गर्छन् । ग्राम्सीको दृष्टिकोणमा क्रान्ति सफल पार्नका लागि ‘जैविक बुद्धिजीवी’हरूले नागरिक समाजमा सांस्कृतिक सङ्घर्ष गरेर सत्ताधारीको प्रभुत्वलाई कमजोर पार्नुपर्छ ।

बुद्धिजीवी पेशाकर्मीको काम भूमिकाबारेमा माथि चर्चा गरे जस्तै यतिबेला हाम्रोजस्तो देशमा जुन राजनीतिक परिस्थितिको विकास भएको छ । यश परिस्थितिमा २०६२÷६३ को युगान्तकारी परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गरेर संविधानअनुसार मुलुकलाई अगाडि बढाउँदै लोकतन्त्र र संविधानको रक्षा र सुदृढीकरण गरेर संविधान अनुसार मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन बौद्धिक वर्गले महत्त्वपूर्ण भूमिका निवार्ह गर्नुपर्ने बेला आएको छ ।

यहीँ क्रममा प्रतिनिधिसभाको निर्वाचन संघारमा आइसकेको छ । यो निर्वाचनका माध्यमबाट संसदको गठन र बहुमत प्राप्त राजनीतिक दलले सरकार गठन हुने भएकोले यो निर्वाचनको राष्ट्रिय राजनीतिमा अत्यन्तै महत्त्व रहेको छ । यतिबेला मुलुकमा आर्थिक, सामाजिक रुपान्तरण गरेर उत्पादन, रोजगारी बृद्वि र आर्थिक सामाजिक शोषणलाई अन्त्य गरेर समाजवादी क्रान्ति गर्नुपर्ने अभिभारा रहेको छ । यो निर्वाचनमा समाजवादी विचार नीति, कार्यक्रम अगाडि सारेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन सक्दा मात्र मुलुकमा समाजवादी आर्थिकसामाजिक कार्यक्रम लागू गर्न सकिने हुँदा पनि यस निर्वाचनको महत्त्व रहेको छ ।

वर्तमान निर्वाचनमा विभिन्न राजनीतिक शक्तिहरुले आ–आफ्ना उम्मेदवारहरुलाई अगाडि सारेका छन् । यसपटको निर्वाचनमा धेरै राजनैतिक दलहरू सहभागी भएका भएतापनि मुख्य प्रतिस्पर्धा चार प्रकारका राजनीतिक दलहरुबिच हुने देखिएको छ ।

पहिलो, कान्तिकारी शक्ति छ । यसको मूल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी हो । नेपाली कम्युनिस्ट पार्टीले मात्रै समाज रूपान्तरणको स्पष्ट दृष्टिकोण र समाजवादी कार्यदिशा अगाडि सारेको छ ।

दोस्रो, यथास्थितिवादी शक्ति, जसको प्रतिनिधित्व नेकपा एमाले र नेपाली कांग्रेसले गर्दछन् । एमाले र कांग्रेसले मुलुकलाई अहिलेको अवस्थाबाट अगाडि बढाउने कुनै नवीन अवधारणा प्रस्तुत गरेका छैनन् । यिनीहरूले नवउदारवादी पुँजीवादी आर्थिक नीतिलाई बोकेका छन् । उनीहरूले समाजवादी आर्थिकसामाजिक नीति अगाडि सारेका छैनन् । उनीहरू यथास्थितिमै रहन चाहान्छन् । सरकारमा गएर यि राजनीतिक शक्तिले मुलुकमा आर्थिक सामाजिक विकासका काम गरेर मुलुकमा उत्पादन बढाउने, रोजगारी बढाउने, औधोगीकरणको थालनी गर्ने, सन्तुलित विकास गर्ने, आर्थिक शोषणलाई अन्त्य गर्ने काम गर्न सकेका छैनन् ।

तेस्रो, पपुलिष्ट शक्ति छ । यो शक्तिले आँफुलाई नयाँ भन्ने पपुलिष्ट शक्ति सिद्धान्तहिन एवम् दृष्टिकोणविहिन शक्ति हो । यो भदौ २४ को विध्वंस मच्चाउने तत्वसँग जोडिएको शक्ति हो । यसले मुलुकका समस्या समाधान गर्ने कुनै दृष्टिकोण प्रस्तुत गरेको छैन । त्यसैले यो देश र जनताको हितमा काम गर्ने शक्ति हन सक्दैन ।

चौथो, प्रतिगामी पुनरुत्थानवादी शक्ति । यो राप्रपाको नामबाट चुनावी मैदानमा छ । यसले जन क्रान्तिद्वारा उखेलेर फ्याकिएको सामन्ती राजतन्त्र फर्काउन चाहन्छ । यो देशलाई अगाडि होइन पछाडि धकेल्न चाहन्छ ।

मतदाताले उपर्युक्त चार प्रकारका शक्तिमध्ये एउटालाई छान्नुपर्ने छ । मुलुकलाई आजको अवस्थाबाट अगाडि लैजाने स्पष्ट दृष्टिकोण र योजना भएको शक्ति भनेको नेपाली कम्युनिस्ट पार्टी हो ।

विगतमा क्रान्तिकारी सङ्घर्ष सञ्चालन गरेर मुलुकमा राजनीतिक परिवर्तन भएको छ । आज आम जनताले उपभोग गरिरहेको नागरिक अधिकार, लोकतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता आदि ल्याउनका निम्ति सङ्घर्ष र नेतृत्व गरेको छ ।

राजनीतिक व्यवस्था बदल्ने जुन भूमिका निर्वाह भएको छ । देशमा आर्थिक सामाजिक विकास गरेर जनताको अवस्था बदल्न नेपाली कम्युनिस्ट पार्टीले समाजवादी आर्थिकसामाजिक कार्यक्रम अगाडि सारेको छ । त्यसैले नेपाली कम्युनिस्ट पार्टीलाई यस निर्वाचनमा विजय गराउन निम्न कारणले आवश्यक छ भन्ने विषय अब जनता समक्ष लैजानुपर्छ ।

पहिलो, राष्ट्रिय स्वाधीनतालाई राजनीतिक, आर्थिक र नीतिगत आत्मनिर्णयसहित सुदृढ गर्दै वैदेशिक हस्तक्षेप तथा परनिर्भरताको अन्त्य गर्न ।

दोश्रो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र विकास तथा सङ्घ, प्रदेश र स्थानीय तहबिचको अधिकार बाँडफाँट सुस्पष्ट गर्न ।

तेस्रो, समतामूलक समृद्धि, सुशासन, सामाजिक न्याय र मानवीय मूल्यको प्रत्याभूति गर्दै देशको उत्पादन, वितरण र सेवामा जनताप्रतिको उत्तरदायित्व सुनिश्चित गरी समाजवादतर्फ अग्रसर हुन ।

चौथो, वर्तमान संविधानको सकारात्मक पक्षहरूको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरुप, निर्वाचन प्रणाली, सङ्घीय संरचनाको सुदृढीकरण लगायतका विषयमा युवा पुस्ताको भावनाको समेत आधारमा संविधान संशोधन र अग्रगामी परिमार्जन गर्न ।

पाँचौ, बहुलतायुक्त समाजअनुकूल राज्यसत्तामा सबै समुदायको प्रतिनिधित्व, पहुँच र पहिचान सुनिश्चित गर्दै समावेशी लोकतान्त्रिक संरचना निर्माण गर्न ।

छैठौं, जनतालाई भोक, रोग, गरिबी, असमानता र वर्गीय विभेदबाट मुक्ति दिलाउन तथा शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षाजस्ता मौलिक हकको व्यवहारिक कार्यान्वयन गर्न ।

सातौ, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकरूपले वहिष्करणमा परेका वा पारिएका महिला, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्ग पिछडिएको क्षेत्रलगायतका सीमान्तीकृत वर्ग र समुदायहरूलाई राज्यका सबै अङ्ग, तह र निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति दिलाउन ।

आठौं, महिला, मजदूर, किसान, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख तथा सीमान्तीकृत समुदायहरूलाई अधिकार र अवसरमा समानता तथा सहभागिता सुनिश्चित गर्न ।

नवौँ, देशको सार्वभौमिकता र भूअखण्डताको रक्षा गर्दै पहिचान र अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्रको रणनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन र सरकार तीन वटै मोर्चामा सङ्घर्षरत रहन ।

दशौ, धार्मिक स्वतन्त्रता, बहुसांस्कृतिक सम्मान र सामाजिक सद्भाव विथोल्ने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै राष्ट्रिय एकता मजबूत पार्न ।

यस क्रममा नेपाली कम्युनिस्ट पार्टीले यस निर्वाचनमा सात वटा प्रमुख कार्यक्रमिक प्रतिबद्धता जन समक्ष अगाडि सारेको छ ।

पहिलो, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागि संघर्षरत रहने ।

दोश्रो, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै समाजवादी गणतन्त्र, लोकतन्त्रको विकासका लागि अगाडि बढने ।

तेस्रो, मुलुकमा शुसासन कायम गरेर उत्पादन र रोजगारी विस्तार गरेर गरिबी र बेरोजगारी न्यून गर्ने ।
चौथो, संविधानमा पुनरावलोकन गरेर शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायलय, संवैधानिक अंगलगायतका विषयमा संविधान संशोधनको लागि अग्रसर हुने ।

पाँचौ, विस्तृत शान्ति संझौता अनुरुप शान्ति प्रक्रियाका कामलाई टुंगोमा पुर्याएर संक्रमणकालको अन्त्य गर्ने ।

छैठौं, आर्थिक सामाजिक रुपान्तरण गरेर समाजवादको आधार निर्माण गर्ने महान अभियानमा अगाडि बढने ।

सातौ, आर्थिकसामाजिक विभेद र असमानताको अन्त्य गर्न अगाडि बढने रहेका छन् ।

संघारमा आएको यो निर्वाचनमा वाम शक्ति तारा चिन्ह बाहक उम्मेदवारको पक्षमा जनलहर श्रृजना गर्न समाजको बौद्धिक वर्गको रुपमा रहेका बुद्धिजीवी एवं पेशाकर्मीहरुको महत्त्वपूर्ण भूमिका रहन्छ । बुद्धिजीवी पेशाकर्मीहरु, जसले २०४६ र २०६२/०६३ को लोकतान्त्रीक आन्दोलन तथा प्रतिगमन विरोधी आन्दोलनमा संयुक्त ढंगबाट महत्त्वपूर्ण भूमिका निर्वाह पनि गरेका छन् । र, अहिले आन्दोलनकै रुपमा संघारमा आएको यश निर्वाचनमा पनि बुद्धिजीवी पेशाकर्मीहरुले महत्त्वपूर्ण भूमिका निर्बाह गर्न आवश्यक छ ।

खासगरीकन बुद्धिजीवी पेशाकर्मीहरूले यस निर्वाचनमा वाम शक्तिको पक्षमा जनमत निर्माण गरेर यथास्थितिवादी, प्रतिगामीर पपुलिष्ट शक्तिलाई परास्त गर्न तथा मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि तारा चिन्हबाहेक उम्मेदवारहरूको पक्षमा जनलहर श्रृजना गर्न बौद्धिक योगदान पुर्याउन आवश्यक छ ।

यतिबेला बुद्धिजीवीहरुले निर्वाचनको महत्त्व, आवश्यकता र आगामी भूमिकाबारे संयुक्तरूपमा गोष्ठी, भेला अन्तक्रिया कार्यक्रम आयोजना गर्ने काम गर्नुपर्दछ र यस्तो कार्यक्रम मार्फत केन्द्र, जिल्ला र स्थानीय स्तरमा चुनावी घोषणापत्र र प्रतिबद्धता पत्रको व्याख्या विष्लेषण गरेर जनतालाई सुसूचित गराउन, अपील तथा पर्चा प्रकाशन गरि वितरण गर्न, सम्बाद, डबली, अन्तरक्रिया, कोण सभा, आयोजना गरेर बुद्धिजीवीहरुले भूमिका निवार्ह गर्न पर्दछ ।

बुद्धिजीवीहरूले आफ्ना विचारलाई विभिन्न संचार माध्यममा लेख रचना प्रकाशित गरी विचार प्रवाह गर्ने, अन्तर्वार्ता, परिसम्बाद जस्ता कार्यक्रममा सहभागी भएर विचार प्रवाह गरेर जनतालाई सचेत र जागृत पार्ने काम गर्नु पर्दछ ।

प्रेमलकुमार खनाल, नेता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)

प्रतिक्रिया दिनुहोस्