काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको उपसभापति र साधारण सदस्यताबाट समेत राजीनामा दिएका छन् ।

हुमागाईँ ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एवं काभ्रे- २ का उम्मेदवार भएका थिए । पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरमा नैतिक विचलन आएको भन्दै उनले बिहीबार राजीनामा दिएका हुन् ।
हुमागाईँले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप लगाएका छन् । वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको गुनासो छ ।
उनले रास्वपाले उम्मेदवार छान्दा चटकेहरुलाई प्राथमिकता दिएको आरोप लगाएका छन् । रास्वपामा प्रारम्भिक समिति केन्द्रीय समिति विस्तार हुँदै गए पनि यसको मापदण्ड, प्रक्रिया र औचित्यमा स्पष्ट पारदर्शिता नभएको उनले औँल्याउँदै उनले पार्टीको संरचना विधि र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित निर्णयतर्फ उन्मुख भएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । साथै उनले पार्टी भित्र पारदर्शिता हराउँदै गएको आरोप लगाएका छन् ।











