Logo
Logo

दश वर्षमा अर्थतन्त्रको आकार २०० खर्ब पुर्‍याउने एमालेको लक्ष्य


315
Shares

काठमाडौं । नेकपा एमालेले फागुन २१ को निर्वाचनका लागि घोषणा पत्र ल्याएको हो । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरे ।

The current image has no alternative text. The file name is: uyamale.jpg

घोषणा पत्रमा एमालेले अबको एक दशकमा देशको अर्थतन्त्रलाई २ सय खर्बको बनाउने योजना ल्याएको छ । एमालेले एक दशकमा २०० खर्बको अर्थतन्त्र बनाउने योजना ल्याएको हो । 

एमालेले समृद्धिको स्तम्भमा आर्थिक वृद्धिदर ७.९ प्रतिशत पुर्‍याएर पाँच वर्षमा अर्थतन्त्रको आकार १०० खर्ब र दश वर्षमा २०० खर्ब पुर्‍याउने लक्ष्य राखेको छ ।

कृषि, ऊर्जा, उद्योग र सूचना प्रविधिमा फड्को मार्ने योजना एमालेको छ । नेपाली नागरिकको प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर बनाउने योजना पनि एमालेले घोषणा पत्रमा समेटेको छ । 

वार्षिक ५ लाख रोजगारी सिर्जना

मर्यादित श्रमको स्तम्भमा एमालेले वैदेशिक रोजगारीको बाध्यता हटाउन स्वदेशमै वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । कृषि, हरित उद्योग, सूचना प्रविधि र पूर्वाधार आयोजनामा रोजगारी विस्तार गर्ने योजना छ ।

युवाहरूलाई सीप र उद्यमशीलता विकास गरी निजी क्षेत्रको आत्मविश्वास बढाउने र लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रतिबद्धता एमालेले गरेको छ ।

सुरक्षित आवास

सुरक्षित र सम्मानजनक बासको प्रतिबद्धता जनाएको एमालेले भूमिहीन, सुकुम्वासी र कमजोर वर्गका लागि आधारभूत सेवासहित आवास उपलब्ध गराउने घोषणा गरेको छ ।

विपद् पीडित र ज्येष्ठ नागरिकलाई ‘नागरिक आवास’ सेवा दिने र सहुलियत ऋण तथा लिजमा जग्गा उपलब्ध गराउने योजना छ। ‘नागरिक आवास कोष’ स्थापना गरी निजी क्षेत्रलाई प्रोत्साहन दिने उल्लेख छ ।

उद्योग क्षेत्रको विस्तार : जीडीपीमा २० प्रतिशत योगदान

उद्योग क्षेत्रको योगदान दोब्बर बनाएर कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत पुर्‍याउने एमालेको लक्ष्य छ । उत्पादनमूलक उद्योग, खानी र निर्माण क्षेत्र विस्तार गर्ने योजना छ । उद्योगीहरूको सुरक्षा ग्यारेन्टी गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्ने र ‘इन्डष्ट्रियल इकोसिस्टम’ विकास गर्ने प्रतिबद्धता एमालेको छ । दैलेखमा ग्यास र नवलपरासीको धौवादी फलाम खानीको व्यापारिक उत्पादन सुरु गर्ने योजना पनि एमालेले घोषणा पत्रमा ल्याएको छ ।

व्यापार सन्तुलन : निर्यात तेब्बर बनाउने

आयात घटाउने र निर्यात बढाउने एमालेको योजनाले भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने दाबी गरेको छ । तीन वर्षमा निर्यात दोब्बर र पाँच वर्षमा तेब्बर गर्ने लक्ष्य एमालेले लिएको छ ।

कृषि उपज, विद्युत् र सूचना प्रविधि निर्यातमा जोड दिँदै ‘ल्याण्ड लिंक्ड निर्यातक’ बनाउने प्रतिबद्धता एमालेको छ । भारत र चीनसँगका बन्दरगाह उपयोग गरी अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने योजना एमालेको छ ।

प्रतिक्रिया दिनुहोस्