Logo
Logo

रास्वपा उम्मेदवारको बोलीले मच्चायो खैलाबैला


2.1k
Shares

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा ललितपुर क्षेत्र नम्बर २ को चुनावी मैदान तातिएको छ । तर, यो चर्चा विकासका एजेन्डाले भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल र मतदाताबीचको ‘वाकयुद्ध’ का कारण बढी चुलिएको हो ।

पूर्वमन्त्रीसमेत रहेका रास्वपा उम्मेदवार खरेल बिहीबार चुनावी घरदैलोमा निस्किएका थिए । सो क्रममा मतदाताले खरेलको विगत र उनको बार्बरा फाउन्डेसनसँगको आबद्धतामाथि प्रश्न उठाएका थिए ।

सामान्य संवाद हुनुपर्ने ठाउँमा स्थिति तब बिग्रियो जब खरेल आक्रोशित बने । उनले प्रश्नकर्ता मतदातालाई नै ‘४५ वर्षदेखि देश लुटेर खाने दलको हनुमान’ भन्दै कडा प्रतिवाद गरे । सोही घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
पूर्वसञ्चारमन्त्री समेत रहेका खरेलमाथि अहिले स्थानीय स्तरमा चुनाव गराउने मुख्य जिम्मेवारीसहित सरकारमा गएर बीचमै पद त्यागी उम्मेदवार बनेको भन्दै ‘भगौडा मन्त्री’ को आरोप लागेको छ ।

त्यस्तै मतदाताका तिखा प्रश्नलाई सहज रूपमा लिनुको सट्टा गालीगलौजमा उत्रिएको भन्दै नागरिक समाजले आलोचना गरिरहेको छ ।

यद्यपि, खरेलले भने आफूमाथि लागेका आरोपहरू पुष्टि गर्न चुनौती दिँदै आफ्नो पार्टीले मात्र देशको कायापलट गर्न सक्ने दाबीलाई छोडेका छैनन् ।

सुनसरीमा पनि उस्तै दृश्य
खरेलको विवाद सेलाउन नपाउँदै सुनसरी–३ का रास्वपा उम्मेदवार अशोक चौधरीले पनि आगोमा घिउ थप्ने काम गरेका छन् । उनले रास्वपालाई भोट नहाल्नेहरूलाई सिधै ‘देशविरोधी’ भनेपछि इटहरीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम रणभूमि जस्तै बनेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले उनलाई सुरक्षा घेरामा राखेर बाहिर निकाल्नु परेको थियो ।

नयाँ शक्तिका रूपमा उदाएको रास्वपाका उम्मेदवारहरूको यो ‘आक्रामक’ शैलीले मतदातालाई आकर्षित गर्छ या झन् टाढा धकेल्छ, त्यो त चुनावी परिणामले नै देखाउनेछ । तर, जनताका प्रश्नलाई अपमानका रूपमा लिने प्रवृत्तिले लोकतान्त्रिक संस्कारमाथि भने प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्