Logo
Logo

विवाहको बाजाले निम्त्यायो विवाद : रौतहटमा कर्फ्यु जारी


2k
Shares

काठमाडौं । रौतहटको गौर नगरपालिका-६, सपगडा टोलमा विवाहको जन्ती बाजा बजाउँदै जाँदा फरक समुदायसँग विवाद उत्पन्न भएपछि स्थिति तनावपूर्ण बनेको छ । विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

घटनाको सुरुवात बिहीबार राति भएको थियो । हिन्दु समुदायको विवाह जन्ती बाजा बजाउँदै मस्जिद नजिकबाट जाँदा मुस्लिम समुदायले नमाज पढिरहेका बेला बाजा बजाउन नहुने भन्दै अवरोध गरेपछि झगडा सुरु भएको थियो । यस क्रममा केही व्यक्तिहरूबीच झडप हुँदा डिजे समूहका सदस्यहरूलाई कुटपिट समेत भएको थियो ।

शुक्रवार बिहानदेखि दुवै समुदायबीच ढुंगामुढा सुरु भएपछि स्थिति झन् बिग्रियो । झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । यस क्रममा ६ जना सर्वसाधारण घाइते भएका छन् भने प्रहरीका दुई जना पनि घाइते भएका छन् ।

प्रदर्शनकारीहरूले भारतीय नम्बर प्लेटको एक गाडी र १२ वटा मोटरसाइकल तोडफोड गरेका रौतहटका डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन् । स्थिति नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा बेलुकी दुवै समुदायका अगुवाहरूसँग छलफल गरी ६ बुँदे सहमति भएको बताइए पनि शनिवार बिहान फेरि विवाद सुरु भएपछि झडप भएको हो । प्रशासनले स्थिति पूर्ण रूपमा नियन्त्रणमा लिन प्रयास गरिरहेको र शान्ति कायम गर्न दुवै पक्षलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्