
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट अमेरिका भित्रिने सामानमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि उनले लगाएको आयात करलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि क्रुद्ध बनेका ट्रम्पले नयाँ कानुनी बाटो रोज्दै करको दर थप बढाएका हुन् ।
शुक्रबार मात्रै १० प्रतिशत शुल्क लगाउने बताएका उनले शनिबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत त्यसलाई बढाएर १५ प्रतिशत पर्याएको जानकारी दिएका हुन् । ट्रम्पले सन् १९७४ को व्यापार ऐनको धारा १२२ प्रयोग गरेका हुन् ।
यो कानुन अनुसार सरकारले कंग्रेसको अनुमति बिना करिब पाँच महिनासम्म यस्तो शुल्क लागू गर्न पाउँछ । सर्वोच्च अदालतले यसअघि ट्रम्पले इन्टरनेशनल इमर्जेन्सी इकोनोमिक पावर्स एक्ट प्रयोग गरेर लगाएको करलाई अधिकार क्षेत्र बाहिरको भन्दै ६–३ को बहुमतले बदर गरिदिएको थियो ।
अदालतको उक्त फैसलालाई ट्रम्पले ‘हास्यास्पद, कमजोर र अमेरिका विरोधी’ भन्दै कडा आलोचना गरेका छन् । विशेषगरी बेलायत र अस्ट्रेलिया जस्ता देशहरूसँग १० प्रतिशत शुल्कको सम्झौता भइसकेको अवस्थामा ट्रम्पको यो नयाँ निर्णयले अन्योल सिर्जना गरेको छ ।











