Logo
Logo

६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : ओली


252
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितमा काम गर्दा आफूमाथि चौतर्फी प्रहार र घेराबन्दी भएको बताएका छन् । झापामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले आफ्नो ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको लोभमा नलागेको दाबी गरे ।

देशको विकास, राष्ट्रियता र स्वाधीनताको पक्षमा दृढ उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको उनको दाबी छ । ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउने, उत्तरी नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरी मधेसको अर्थतन्त्र उकास्ने कार्य भएको स्मरण गराए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहलाई लक्षित गर्दै एउटा पालिका समेत प्रभावकारी रूपमा नचलाउनेहरूलाई देश चलाउने जिम्मेवारी दिन नसकिने बताए । 

देश कुनै प्रयोगशाला वा मजाकको विषय नभएको भन्दै सफल र सक्षम शक्तिलाई छाडेर असफल तथा अज्ञात व्यक्तिलाई भोट दिने भाष्य निर्माण गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गरे । एमाले मात्रै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्न सक्षम पार्टी भएको दाबी गर्दै उनले एमाले रहुन्जेल यी कुरामा कुनै सम्झौता नहुने स्पष्ट पारे ।

एक–एक इन्च भूमिको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै उनले एमालेलाई कायर वा कठपुतली पार्टी नभएको बताए । राणाकालदेखि लडेर देशलाई यहाँसम्म ल्याएको पार्टी कसैसँग डराएर पिठ्यूँ फर्काउने नहुने उनको भनाइ छ । उनले सुशासन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण र विकासको गतिलाई तीव्रता दिन एमालेको अभियान अघि बढाउनुपर्नेमा जोड दिए । साथै, पुर्खाहरूले हजारौँ वर्षमा विकास गरेका संस्कृति र संस्कारको रक्षा गर्दै समाजका विकृति र बेथितिलाई हटाउँदै जानुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्