पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ । आइतबार साँझ युवा समूह बीच झडप भएको थियो । झडपपछि पछिल्लो सुरक्षा स्थितिलाई मध्यनजर गर्दै आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको छ । यी चार किल्ला भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ लगायतका गतिविधि गर्न रोक लगाइएको छ ।
अत्यावश्यक सेवाका सवारी साधनहरू, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थीहरू, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरू, पर्यटक सवार गाडीहरू र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडीहरूलाई पनि सञ्चालन अनुमति दिइएको छ ।
साथै हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा पनि सुरक्षाकर्मीबाट सहजीकरण हुने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।











