काठमाडौं । धादिङ बस दुर्घटनाको छानबिन गरिने भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।

दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीन वटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।
दुर्घटनामा १९ जनाको मृत्यु भएको छ । १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । प्रहरीका अनुसार कलंकीस्थित नेशनल अस्पतालमा एक महिलासिहत १० जना र ट्रमा सेन्टरमा १५ जना ल्याइएको छ । ट्रमामा एक जना युवकको मृत्यु भएको छ भने १४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।











