Logo
Logo

वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता बढ्यो : प्रचण्ड


126
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुनुपर्ने बताएका छन् । 

एमाले निकट मुक्ति समाज दोलखाका नेताहरू तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै उनले २०७४ मा एमाले र माओवादी केन्द्र मिलाएर नेकपा गठन गरेको स्मरण गराउँदै भने, ‘कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने उद्देश्यले नेकपा बनाएका थियौँ । दुर्भाग्यवश त्यसलाई टिकाउन सकिएन । तर हाम्रो उद्देश्य सही थियो । नेतृत्वको गलत सोच र कार्यशैलीका कारण एकता भङ्ग भयो ।’

जनआन्दोलनपछि उत्पन्न विषम परिस्थितिले फेरि वामपन्थी, देशभक्त, समाजवादी र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध हुनुपर्ने आवश्यकता बढेको प्रचण्डको भनाइ छ । उनले भने, ‘एमालेका पूर्वमन्त्री, सांसदहरू पनि हाम्रो पार्टीमा प्रवेश गरिसकेका छन् । नेकपा बनेपछि नयाँ ध्रुवीकरण बनेको छ । केही समयमै सबै वामपन्थी कम्युनिस्ट एकै ठाउँमा हुनेछौँ ।’

केपी ओलीको गलत सोच र कार्यशैलीका कारण एमालेमा विद्रोह बढेको उल्लेख गर्दै उनले भने, ‘एमालेभित्रकै साथीहरूले पनि एकताको झन्डा उठाउनेछन् । निर्वाचन नजिकिँदै छ । हाम्रो प्रगति दिनदिनै बढिरहेको छ । हामी पहिलो पार्टी बन्ने सम्भावना छ, नभए पनि मुख्य प्रतिस्पर्धी हुनेछौँ । आउने सरकारमा नेकपाको भूमिका निर्णायक हुने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्