पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरू गफ गर्न वा सामाजिक सञ्जालमा ‘सेलिब्रिटी’ बन्न नभई काम गर्नका लागि राजनीतिमा आएको बताएका छन् ।

पाँचथरको फिदिममा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले जेन्जी आन्दोलनपछि नयाँ दलका रूपमा देश विकासका स्पष्ट योजनासहित चुनावमा होमिएको दाबी गरे।
‘जेन्जी आन्दोलनको उद्देश्य र जनताको मागअनुसार हामी स्थापित भएका छौँ,’ उनले भने, ‘हामी भाषणमा होइन, काम र परिणाममा विश्वास गर्छौँ । हामी देशको सेवक बन्न आएका हौँ। आन्दोलनको बलिदानलाई सम्मान गर्न भोट मागिरहेका छौँ ।’
घिसिङले देशको समृद्धि, सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँलाई प्राथमिकतामा राख्दै उज्यालो नेपाल पार्टीलाई समर्थन गर्न मतदातासमक्ष आह्वान गरे । लोडसेडिङ अन्त्यको अनुभवलाई स्मरण गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि पार्टीले स्पष्ट रोडम्याप तयार पारिसकेको बताए ।











