Logo
Logo

देश जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा


न्युज एजेन्सी नेपाल

315
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको टिप्पणी गरेका छन् । उनले आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गरे ।

मंगलबार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले चुनावी प्रतिस्पर्धालाई मर्यादित बनाउन सबै दलहरूलाई आग्रह गरे ।

“विगतमा फलानाफलानालाई हेरियो यो पाली अर्कोलाई भन्ने कुरा छ । के चुनाव हेर्ने कुरा हो ? चार दिनदेखि लौकाको तरकारी खाइयो कति खानु भनेर घिरौलाको तरकारी खानु हो ? देश जिम्मा लगाउने कुरा भनेको स्वाद फेरेजस्तो कुरा होइन,” शर्माले भने, “विगतमा कसले के भूमिका कसरी निर्वाह गरेको छ ? मुलुकलाई विगतको कुन कालखण्डमा कसले सम्हाल्ने काम गरेको छ ? यो कुरालाई मतदाताले हेर्नुपर्छ ।”

चुनावमा जाँदा विपक्षी दलमाथि गाली–गलौज नगरी शान्त र सभ्य ढंगले अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले कतिपय राजनीतिक दलहरूले चुनावलाई युद्धसँग तुलना गर्ने गरेको उल्लेख गर्दै त्यस्तो मानसिकताले मुलुकको भलो हुन नसक्ने शर्माको भनाइ छ ।

“चुनावमा जाँदै गर्दा विपक्षीलाई गाली नगरिकन जानुपर्छ । चुनाव भनेको युद्धको मैदान होइन । कतिपयहरूले हामी युद्धमा छौँ भन्नुहुन्छ । यहाँ आवेगको कुरा छ, झोकको कुरा छ, रिसको कुरा छ, देखाउँला भन्ने कुरा छ,” शर्माले भने ।

शर्माले इतिहासका विभिन्न कालखण्डमा मुलुकलाई कसले सम्हाल्यो भन्ने कुराको हेक्का राखेर मात्र मतदानको निर्णय गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्