काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाको कमल गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम गर्ने भएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा ओली बिहीबार दिनभरि कमल गाउँपालिका अन्तर्गतका विभिन्न आठ स्थानमा पुगेर भेटघाट गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ बजे कमल ५ को सिम्लेस्थित सिरिजङ्गा चौकमा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै साढे १२ बजे सोही वडाको झारबारीस्थित राधाकृष्ण मन्दिरमा पुगेर स्थानीयसँग भेटघाट गर्ने छन् ।
यहाँको कार्यक्रम सम्पन्न गरे लगत्तै साढे १ बजे कमल ३ सानो केर्खामा भेटघाट कार्यक्रम तय भएको छ । साढे २ बजे कमल ४ को भलायोडाँडामा मतदातासँग भेटघाट कार्यक्रम रहेको जनाइएको छ। यहाँको भेटघाट सकिए लगत्तै साढे ३ बजे कमल २ को भुत्लुङमा अोलीले स्थानीयसँग प्रत्यक्ष भेटघाट कार्यक्रम गर्ने छन् ।
पार्टीको स्थानीय वडा कमिटीले भेटघाट आयोजना गरिए अनुसार निम्न स्थानमा भेटघाट गरी सुझाव र समस्याका विषयमा छलफल गरिने जनाइएको छ । यहाँको भेटघाट सकिए लगत्तै सोही वडाको जीवन चौकमा ४ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
अपरान्ह्र साढे ४ बजे कमल ४ र ६ मा पर्ने नयाँ बस्तीका बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसरी नै सोही दिन साँझ ५ बजे कमल ५ को रत्नपुर टोलमा मंलगबारेमा पुगेर मतदातासँग भेटघाट कार्यक्रम सम्पन्न गरिने भएको छ । भेटघाटका क्रममा स्थानीयले राखेका समस्या र सुझावका विषयलाई लिएर बाँकी विकास निर्माण कामको योजना बनाइने छ ।
ओलीले पनि जनतासँग प्रत्यक्ष टोलटोलमा पुगेर त्यस स्थानका समस्या सुनेर समाधानको योजना निर्माण गरिने रणनीतिको रूपमा लिएका छन् । हिजो मात्र उनले यही निर्वाचन क्षेत्र अन्तर्गतको गौरीगञ्ज गापाको ११ स्थानमा पुगेर भेटघाट सम्पन्न गरेका थिए ।











