
काठमाडौं । निर्वाचनमा मतदाता नामावलीमा नाम भएका नागरिकले मतदाता परिचयपत्र साथमा नभए पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोग र गृह मन्त्रालयको समन्वयमा कुनै पनि आधिकारिक सरकारी कागजात देखाएर मतदान गर्न पाउने व्यवस्था गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ को दफा ४३ र ८४ अनुसार, मतदाताले मतदान केन्द्रमा जाँदा आफ्नो मतदाता परिचयपत्र अनिवार्य लैजानुपर्ने प्रावधान छ । तर, विशेष परिस्थितिका कारण परिचयपत्र साथमा नभएका मतदातालाई मध्यनजर गर्दै वैकल्पिक व्यवस्था गरिएको छ ।
जसमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा), सवारी चालक अनुमतिपत्र देखाएको मतदान गर्न पाइनेछ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार, मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएका व्यक्तिलाई मतदानबाट वञ्चित नगर्न निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालाहरूलाई जानकारी गराइसकिएको छ ।
साथै, गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन र यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।











