Logo
Logo

चुनावको दिन हवाई उडान नरोकिने, विमानस्थल आउजाउ गर्न छुट्टै पास नचाहिने


378
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडान सुचारु हुने भएका छन् । विगतका निर्वाचनमा आन्तरिक उडान ठप्प पारिने गरिए पनि यसपटक निर्वाचन आयोगले हवाई सेवालाई यथावत राख्ने निर्णय गरेको हो ।

आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै मतदानको दिन पनि हवाई उडान सञ्चालनमा कुनै अवरोध नगर्न र आवश्यक वातावरण मिलाउन निर्देशन दिएको छ । यो निर्णयसँगै २१ फागुनमा उडानको टिकट भएका यात्रुहरूले ढुक्कसँग यात्रा गर्न पाउनेछन् ।

आन्तरिक वा अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुहरूले विमानस्थलबाट घर वा होटलसम्म र होटलबाट विमानस्थलसम्म जान निजी सवारी साधन वा सम्बन्धित एयरलाइन्सको गाडी प्रयोग गर्न पाउने आयोगले जनाएको छ ।

यात्रुहरूले आफ्नो साथमा रहेको हवाई टिकट देखाएरै विमानस्थलसम्मको यात्रा गर्न सक्ने व्यवस्था मिलाउन आयोगले गृहलाई भनेको छ । यसअघिका निर्वाचनहरूमा आन्तरिक उडान पूर्ण रूपमा बन्द गरिँदै आएको थियो, जसका कारण पर्यटक र अत्यावश्यक काममा निस्कनुपर्ने यात्रुहरू मर्कामा पर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्