Logo
Logo

मतदाताको बाटो छेक्ने र एकपटकभन्दा बढी मतदान गर्नेलाई के हुन्छ कारबाही ?


567
Shares

काठमाडौं । आगामी बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ । मतदानका क्रममा मतदातालाई मतदान स्थलसम्म पुग्नबाट कसैले पनि रोक्न नपाइने निर्वाचन आचारसंहितामा स्पष्ट उल्लेख गरिएको छ ।

आचारसंहितामा भनिएको छ, “कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न, वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमको बाधा–अवरोध गर्न वा गराउन हुँदैन।” यस्तो कार्य गरेमा सम्बन्धित व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

त्यस्तै, मतदाताले एकभन्दा बढी पटक मतदान गर्न पनि पाउने छैनन् । निर्वाचन आयोगका अनुसार कुनै व्यक्तिले एकपटकभन्दा बढी मतदान गरेमा उसलाई पनि २५ हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आयोगले आचारसंहिता अनुगमन अधिकृतहरूलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ । सोमबार जारी विज्ञप्तिमार्फत आयोगले उक्त जानकारी दिएको हो ।

आयोगका अनुसार निर्वाचन व्यवस्थापन तथा कर्मचारी खटनपटन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक व्यवस्थापन र कर्मचारी परिचालनको काम सम्पन्न भइसकेको जानकारी दिए ।

उनका अनुसार मतदान अधिकृतहरू सम्बन्धित मतदान केन्द्र र स्थलमा पुगिसकेका छन् भने मतदानका लागि आवश्यक सामग्रीसमेत ढुवानी भइसकेको छ ।

२१ फागुनमा हुने निर्वाचनका लागि आयोगले ४ फागुनदेखि १८ फागुनसम्म प्रचारप्रसारको अवधि निर्धारण गरेको थियो । गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यो अवधि मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहनेछ ।

प्रतिक्रिया दिनुहोस्