Logo
Logo

विद्युत् सेवा अवरुद्ध, चार दिनदेखि अन्धकार


- दृष्टि न्युज/संवाददाता


हुम्ला, २१ कात्तिक । हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् ।

साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका गरी १५० घरधुरी अन्धकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिनुभयो । अवरुद्ध भएको विद्युत् सेवा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण कार्यायलमा जानकारी गराउँदा ठेकेदारले सडक चौडा गर्ने क्रममा पोल ढालेको हुनाले आफूहरूले मर्मत नगर्ने जवाफ दिएको उहाँले बताउनुभयो । ठेकेदारले पनि पोल मर्मतप्रति कुनै चासो नदिएको बताइएको छ ।

त्यसैगरी गत आइतबार रातिदेखि मौसममा फेरबदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटसहित तल्लो क्षेत्रमा असिनापानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको थियो ।

असिनापानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाम सिमकोटमा चिसो महसुस गर्न थालिएको छ । यहाँको तापक्रम माइनसमा झरेको छ । चिसो मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको यहाँका स्थानीय राजबहादुर भण्डारीले बताए । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडा खरिद गर्न थालेको उनले भने । चिसोको समयमा बाक्लो ज्याकेट, ऊनको टोपी, पञ्जा, गलबन्दीलगायतका बाक्लो कपडा खरिद गर्न थालेका छन् ।

सिमकोटमा रहेका पसलमा बाक्लो कपडाको खोजी गर्नेको संख्या बढ्नुका साथै यहाँका स्थानीयले बाक्लो कपडा खरिद गर्न थालेका छन् । बाक्लो खाले ज्याकेटको सिमकोटमा चार हजारदेखि माथिको मूल्यमा यहाँका किन्ने गरेका छन् । दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको मन्द चाप चिसो बढ्दै गएको महसुस सिमकोटका बासिन्दाले गरेका छन् । चिसोको समय शुरु भएसँगै सिमकोटमा बसोबास गर्दै आएका सिमकोट तल्लो गाउँ, माथिल्लो, बजारवासी, कर्मचारी र विद्यार्थीले दाउरासमेत खरिद गर्ने गर्दछन् । एक भारी दाउराको मूल्य सदरमुकाममा रु एक हजारसम्म पर्ने गरेको छ । चिसो याम शुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्