Logo
Logo

तरबारको धारमा बालेन


1k
Shares


फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन होला कि नहोला भन्ने टन्टासाफ भयो । यस पटकको निर्वाचन परिणामले कांग्रेस, एमालेका नेताहरूलाई भित्तामा पु¥याइदियो भने, अधिकांश युवाहरूको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी परेको छ । भदौ २३ र २४ गतेको विद्रोहका कारण एमाले काँग्रेसको गठबन्धन सरकार ढलेसँगै प्रतिनिधिसभा विघटन भएर सुशीला कार्की नेतृत्वको सरकार गठन भएको थियो ।

यो असामान्य परिस्थितिमा कांग्रेस र एमाले पत्तासाफ हुन्छ भन्ने कुरा स्वाभाविकै थियो, भयो । किनभने यी दुई ठूला दलको सरकारले नै जेनजी आन्दोलनको क्रममा ७६ जना निर्दोष युवाहरूको हत्या गरेका थिए, त्यसको बदला निर्वाचनमार्फत सचेत मतदाताले लिन्छन् भन्ने कुरा अकाट्य नै थियो ।

भदौ २३ र २४ गतेको विद्रोह कांग्रेस र एमालेकै कारण निम्तिएको कुरामा दुईमत छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको भए, युवा विद्यार्थीहरू सडकमा आउने थिएनन् । भदौ २३ गते स्कुले विद्यार्थीहरूमाथि अन्धाधुन्ध गोली चलाएर ७६ जना युवा विद्यार्थीहरूको हत्या नगरेको भए भदौ २४ जन्मने थिएन । त्यसैले यो निर्वाचन ओली स्वयंले आफ्नो पतन निम्त्याउन खनेको खाल्डो हो, जहाँ आफैँ परे ।

जेनजी विद्रोह सरकार ढाल्न बाह्य शक्तिले खेलेको खेल भनेर स्वयं ओलीले आरोप लगाउने गरेका छन् । यदि, त्यो आरोपमा सत्यता थियो भने समयमै आफूलाई सुधार्ने प्रयास उनले किन गरेनन्, अथवा यो परिस्थिति निम्त्याउन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन उनलाई कसले उक्सायो, जसका कारण ज्यान जोगाउन हेलिकप्टरबाट आफैँ भाग्नुप¥यो ।

पक्कै पनि नेपालको राजनीतिमा जहिले पनि आन्तरिक र बाह्य कारणहरू हुन्छन् । आन्तरिक कारण कमजोर नभई बाह्य कारण बलियो हुन सक्दैन । अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइ मत आएको छ । त्यो मतलाई सुरक्षित पार्न पनि आन्तरिक र बाह्य शक्ति सन्तुलन आवश्यक पर्छ । त्यो गर्न सकिएन भने ०७४ सालको एमाले–माओवादी गठबन्धन सरकार ढलेजस्तै रास्वपाको सरकार बीचैमा ढल्न सक्छ ।

०७४ सालको सरकार किन र कसका कारण ढल्यो भन्ने कुराको भित्री कथा ओली र उनको ‘किचन क्याबिनेट’लाई राम्रोसँग थाहा छ । ०७४ सालको गठबन्धन सरकार ढल्दा सबैभन्दा बढी खुसी को थिए भन्दा स्वयं ओली नै थिए, जसको दम्भले पुस ५ गते दुईतिहाइको संसद् भङ्ग गरेर आफ्नै सरकार ढालेका थिए ।

२०७७ सालको संसद् विघटनले निम्त्याएको राजनीति विकृति २०८२ सालमा आएर टुंगिएको छ । अब नेपालको राजनीति नयाँ ढंगबाट अगाडि बढ्ने आशा गरिएको छ । विगतमा जसरी सरकार बनाउने र ढाल्ने काममा आन्तरिक र बाह्य कारण प्रत्यक्ष, अप्रत्यक्ष रूपमा निर्णायक हुन्थ्यो, त्यसैगरी आजको भूराजनीतिक परिस्थितिमा पनि त्यो कुरा लागू हुन्छ ।

हामीले मित्र बदल्न सक्छौँ, तर छिमेकी बदल्न सक्दैनौँ । आन्तरिक र बाह्य कारण जे भने पनि हामीले छिमेकीको मन दुःखाएको दिन जस्तोसुकै बलियो सरकारको पनि दिनगन्ती सुरु हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । राजनीतिक स्थिरताका लागि आन्तरिक समस्या समाधान गर्दै बाह्य शक्ति सन्तुलन पनि मिलाउनु पर्छ ।

मलाई लाग्छ, नेपालको यो राजनीतिक परिवर्तनलाई हाम्रा दुई छिमेकीहरूले मात्र होइन, अमेरिका, युरोपियनहरूले पनि बडो चासोका साथ हेरिरहेका छन् । यदि, उनीहरूको भावना र चाहनामा ठेस पु¥याउने काम ग¥यौं भने दुई तिहाइ ल्याए पनि पाँचै वर्ष सरकार चलाउन सक्दैनौँ । सत्ता भनेको तरबारको धार हो, जो टाउकोमाथि झुन्डिरहेको हुन्छ । त्यो तरबारले कतिबेला चोट पु¥याउँछ भन्ने कुरा चोट पु¥याएपछि मात्र थाहा पाउँछौं ।

प्रतिक्रिया दिनुहोस्