Logo
Logo

लोक परम्पराका ताजा चित्र ‘आमाको सन्दुस’


छविरमण सिलवाल

0
Shares

नेपाली कथाको प्रारम्भिक रूप लोककथाबाट सुरु भएको मानिन्छ । गाउँघरमा सुनाइने लोककथा, दन्त्यकथा, धार्मिककथा नै आधुनिक कथाको आधार मान्न सकिन्छ । नेपाली कथा लेखनको सुरुवात भने गुरुप्रसाद मैनालीलाई प्रमुख श्रेय दिइन्छ । यसपछि धेरै कथाकारहरूले विभिन्न चरणमा कथा लेखेका छन् ।

प्रारम्भिक चरण (विसं १९५० अगाडि, यथार्थवादी चरण (विसं १९९०–२०२०), प्रगतिवादी र प्रयोगवादी चरण (विसं २०२०–२०४०) र समकालीन चरण (विसं २०४० पछि) । समकालीन चरणपछि भने नेपाली कथामा आधुनिक र उत्तर आधुनिक प्रभाव तथा विषयवस्तु अझ फराकिलो भएको पाइन्छ । जसमा शहरी जीवन, प्रवास, लैङ्गिकता तथा अस्तित्ववादका कथाहरू लेखिएका छन् ।

नेपाली कथा लोकपरम्पराबाट सुरु भएर आज विविध विषय र शैलीमा विकसित भइरहेको छ । विसं २०४० पछि नेपाली कथामा थुप्रै कथाकारहरूले कथा लेखिरहेका छन् । पछिल्लो अवधिमा यथार्थवादी कथाले प्रशय पाएको देखिन्छ । नेपाली साहित्यका अन्य विधाहरूमा पनि यथार्थवादी धारामा सिर्जनाहरू प्रवाहित भएका छन् । पछिल्लो समयमा नेपाली कथा साहित्यमा नयाँ कृति लिएर आएकी छिन्, कथाकार सरिता पराजुली । पराजुलीको नवीनतम कथासङ्ग्रह ‘आमाको सन्दुस’ पढिसकेपछि मैले कथा इतिहासका गर्भहरुलाई खोतल्ने प्रयासमात्र गरेको हुँ । ‘आमाको सन्दुस’भित्रका कथाहरूले ऐतिहासिक धारलाई उत्खनन गरेका छन् ।

कथा विधाभन्दा पहिले उनका ‘प्रेमिल प्रतिध्वनि’ (कवितासङ्ग्रह) र ‘थेम्स किनार वरिपरि’ (नियात्रासङ्ग्रह) प्रकाशन भइसकेका छन्, ‘आमाको सन्दुस’ पराजुलीको तेस्रो कृति हो । साहित्यसँगै समाजसेवाका क्रममा समाजलाई बुझ्ने मौका मिलेको देखिन्छ कथाकारलाई । समाजका हरेक क्षेत्रमा देखिने सङ्गत–विसङ्गत पक्षहरू कथाका विषयवस्तु बनेका छन् ‘आमाको सन्दुस’कथासङ्ग्रहमा । नेपाली समाजमा देखिएका र भोगिएका मिहिन पाटाहरूमा कथाका माध्यमबाट कथाकारले समाजलाई केलाएको देखिन्छ । नेपालका अधिकांश जिल्लालगायत विदेशका दर्जनौँ सहरहरूमा भ्रमण गरेकी कथाकार सरिता पराजुलीका कथाहरू पौराणिक कथनसँग जोडिएर वर्तमान समाजलाई सचेत गराउन सफल देखिन्छन् ।

‘आमाको सन्दुस’ शीर्षक कथाबाट नै पुस्तकको नाम जुरेको छ । यो कथा समाजमा भइरहेका पुस्तान्तरणको एउटा अनुपम उदाहरण पनि हो । र, समयअनुसार परिवर्तन भइरहने हरेक समयसँगै मान्छेका मन र मस्तिष्कमा पर्ने असरलाई कथामा प्रस्तुत गरिएको छ । नयाँले पुरानालाई विस्थापित गर्दा समाजमा पर्ने असरलाई कथामा प्रस्तुत गरिएको छ । आधुनिकताको नाममा पुराना वस्तुहरुको अपहेलना गर्ने क्रमले पुरातात्त्विक सामानहरू लोप भइरहेका पनि छन् । यस कथामा प्रस्तुत गरिएको एउटा सन्दुसको कथा अबका पुस्ताले बुझ्न कठिन हुने पक्का नै छ । सन्दुसको ठाउँमा आधुनिक दराजले स्थान पाएको छ । यसले गर्दा पुराना सामग्रीहरूको व्यवस्थापन गर्दा पनि हाम्रा पुर्खाको अवमूल्यन नहोस् भन्ने कुरा कथाका माध्यमबाट यहाँ प्रस्तुत गरिएको छ ।

‘साहित्यकार सरिता पराजुली जाँगरिली स्रष्टा हुन् । कुशलतापूर्वक घरगृहस्थी चलाउनु, निःस्वार्थ समाजसेवा गर्नु र निरन्तर साहित्यमा अध्ययन र साहित्य सिर्जनामा जुटिरहनुको कारण उनको कर्म सामाजिक सुसंस्कार निर्माणमा उल्लेखनीय बन्न सकेको छ । जो सधैँ सकारात्मक सोच्छ, सधैँ समाजलाई उज्यालो बनाउन अघि बढ्दछ र जो शारीरिक र मानसिक रूपमा सधैँ सक्रिय रहन्छ उसको सामु रोगव्याधीले समेत हार्दछ । उनको यो जाँगर सधैँ ताजा नै रहोस् भन्ने चाहन्छु ।’ ‘आमाको सन्दुस’ कथासङ्ग्रहको भूमिकामा वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी ‘किशोर’ज्यूले लेख्नुभएका यी हरफहरूले पनि सरिता पराजुलीको सक्रियताको राज खोलेको छ । जीवनका अनेकन आरोह अवरोह बाबजुद पनि साहित्य र समाजसेवामा रमाउन सक्ने स्रष्टा पराजुलीका कथाहरूले हरेक पाठकलाई इतिहासका ती दिनहरूको मिठो स्पर्श गर्छ ।

‘आमाको सन्दुस’ भित्र ५३ ओटा कथाहरू रहेका छन् । यी कथाहरूमा समाजका विविध पक्षलाई केलाउने प्रयास गरिएको छ । विदेशको सपना वर्तमान समयकै जटिल समस्याको रूपमा देखिएको छ । विदेशी सपनाले धेरैको परिवारमा विछडिएको समाचारहरु हामीले दैनिक सुनिरहेका हुन्छौँ । त्यस्तै जटिलतालाई ‘आमाको सन्दुस’मार्फत पढ्न सकिन्छ । धेरै बाठो बन्यो भने पनि घातक हुँदो रहेछ भन्ने कुरा कथामार्फत प्रस्तुत भएका छन् । लोककथामार्फत धेरैले सुनेका मनन गरेका तथा समाजलाई सचेत बनाउने कथाहरू हामीले हाम्रा बुबाआमाबाट सुनेका कथाहरू पनि ‘आमाको सन्दुस’मा पढ्दा ताजा भएका छन् ।

‘साहित्यकार सरिता पराजुलीको यो वाङ्मययात्रा नेपाली साहित्यमा विरलै प्राप्त हुने महत्त्वपूर्ण घटना हो । उनले जस्तो पृष्ठभूमि र परिवेशमा आफ्नो अथक प्रयास र साधनालाई अघि बढाइन्, यो प्रेरणास्पद र अनुकरणीय छ ।’ वरिष्ठ आख्यानकार तथा साहित्यकार नारायण ढकालज्यूले कथाकार सरिता पराजुलीलाई हौसला प्रदान गर्दै लेख्नुभएका यी आर्शिवचनले कथाकारलाई आख्यान क्षेत्रमा लाग्न प्रेरणा बनेको छ । वास्तवमा हामी हाम्रो समाज समुन्नत भएको देख्न चाहन्छौँ । साहित्यको माध्यमबाट सरिता पराजुलीले पनि समुन्नत समाजको निर्माण गर्न खोजेको स्पष्ट छ । हाम्रो समाजमा विभिन्न जात धर्मप्रति साहित्यले जोड्नु पनि साहित्यकारको धर्म हुन्छ ।

अक्षरको माध्यमबाट समाजसम्म फैलाउने काम साहित्यकार पराजुलीले गरेको देखिन्छ ‘आमाको सन्दुस’ मार्फत । लघु आकारका विविध शीर्षकमा त्रिपन्न कथाहरुका आ–आफ्नै विशेषताहरू छन् । कथा छोटा, सटिक र सरल भाषामा गम्भीर प्रस्तुति भएका छन् । उपकथा र द्वन्द्व कथामा कमी देखिएता पनि एकै बसाइमा पढ्न र समाजका विविध पात्रसँग साक्षात्कार गर्न सकिन्छ । कथाहरू प्रेमिल, समाजमैत्री, नैतिक ज्ञानले भरिएका समाज सुधारक तथा समाजका विविध पात्र परिवेशसँग घुलमिल हुन सकिन्छ । यी कथाहरू लोककथालाई आधार मानेर वर्तमानमा प्रस्तुत भएका छन् । भुँडीपुराण प्रकाशनबाट प्रकाशित ‘आमाको सन्दुस’कथासङ्ग्रह पढ्दा लोक परम्पराका चित्र ताजा बन्छ ।

प्रतिक्रिया दिनुहोस्