Logo
Logo

एमालेको नेतृत्व गर्न विद्या अनिच्छुक


1.8k
Shares

काठमाडौं । फागुन २१ को आम निर्वाचनमा एमालेले सर्मानाक पराजय भोगेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग एमालेका असन्तुष्ट नेताहरूले भेटघाट गर्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व छाड्नुपर्ने दबाब बढिरहेका बेला एमालेका वर्तमान पदाधिकारीहरूदेखि पूर्वपदाधिकारी विद्या भण्डारीसँग अबको एमाले कसरी अगाडि बढ्छ भन्ने कुरा बुझ्न भण्डारीनिवास पुगेका हुन् । उनीहरूसँगको भेटघाटमा एमाले नेतृत्व र विकल्पको विषयमा छलफल भएको स्रोतको दावी छ ।

विधान महाधिवेशनपछि एमाले नेतृत्वसँग खासगरी अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसँग भण्डारीको सम्बन्ध बिग्रेको थियो । विधान महाधिवेशनबाट भण्डारीलाई अपमानजनक ढंगबाट एमालेमा निषेध गरिएको थियो । त्यसपछि हरेक वैठकले भण्डारीलाई छेक्दै भित्तामा पु¥याउने ओली र उनको समूहको ठूलो भूमिका रहेको बेला पदाधिकारीहरूले उनीसँग भेटघाट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

निर्वाचन हारेपछि त्यसको समीक्षा गर्न बसेको बैठकमा ओलीलाई नेतृत्वमा टिकाइरहनुपर्छ भन्ने विषयमा महासचिव शंकर पोखरेल आफैले नेतृत्व गरिरहेको बैठकमा सहभागी नभई गत बिहीबार बिहान एमाले सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पूर्वराष्ट्रपति भण्डारीसँग डेढघण्टा गोप्य वार्ता गरेर फर्केका थिए । ओली गुटको बैठकमा सहभागी नभएका उनी भण्डारीलाई भेट्न पुगेका थिए । उनीपछि अर्को दिन प्रदीप ज्ञवालीले पनि भेटघाट गरेका छन् । तर यी दुई नेताहरूले भेटघाट गरेको विषय बाहिर आएको छैन । भण्डारी, कार्की र ज्ञवालीले गोप्य राखेका छन् ।

एमालेभित्र अध्यक्ष ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग बढिरहेका बेला सचिव कार्की र ज्ञवालीले भण्डारीलाई छुट्टाछुट्टै भेट्न पुग्नुले एमालेमा खैलाबैला मच्चिएको छ । उनीहरूबीच एमालेले भोग्नुपरेको पराजय र एमालेभित्र देखिएको असन्तुष्टिबारे लामो कुराकानी भएको थियो । एमालेले महाधिवेशनबाटै भण्डारीलाई पार्टीमा आउन रोकेपछि पहिलो पटक कार्की भण्डारी भेट्न पुगेका थिए । एमाले अध्यक्ष ओलीको झापास्थित ५ नं क्षेत्रका स्थायी बासिन्दासमेत रहेका कार्कीले एमालेको सम्भावित नेतृत्वको विषयमा पनि छलफल गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार भण्डारीले अब आफू एमालेको मात्र नेतृत्व गर्न नआउने संकेत गरेको स्रोतको दावी छ । ‘उहाँले एमालेको मात्र नेतृत्वको गर्नुको कुनै अर्थ छैन, कार्की र ज्ञवालीसँगको भेटमा यही कुराकानी हुनुपर्छ’, भण्डारीनिकट स्रोतले भन्यो । वामपन्थी आन्दोलनलाई जोगाउनुपर्ने अवस्था सिर्जना भैरहँदा भण्डारीले एमालेको मात्र नेतृत्व गरेर वामपन्थी आन्दोलन जोगाउन नसकिने र सबै वामपन्थीहरूलाई एक ठाउँमा ल्याएर नेतृत्व गर्ने परिस्थिति बनेमात्र राजनीतिमा सक्रिय हुने बताएकी थिइन् । कार्की र ज्ञवाली दुवैले वैकल्पिक नेतृत्वबारे छलफल गरेको बुझिएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको लज्जास्पद नतिजा आएपछि नेकपा एमालेमा नीति र नेतृत्व पुनर्गठनको बहस ब्युँतिएको छ । सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको मागसहित भदौ तेस्रो साता भएको दुई दिने जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको मुद्दा मुखर बनेपनि हतारमा ११ औं महाधिवेशन गराएर पुनः तेस्रो कार्यकाल अध्यक्षमा अनुमोदन भएका ओली त्यसलगत्तैको चुनावी नतिजामा नराम्रोसँग अस्वीकृत भएका छन् ।

वर्तमान नेतृत्वमा बसेर पार्टीलाई हाँक्न नसकिने निष्कर्षमा पुगेका ओली पक्षीय नेताहरुले नै वैकल्पिक नेतृत्वको विषयमा भण्डारीसँग कुराकानी गरेको स्रोतको दावी छ । ओली पक्षका केही नेताहरूले पनि विकल्प खोज्न थालेपछि गुट विघठनको संघारमा पुगेको छ । गुट विघटनको संघारमा रहेको बेला मुख्यमन्त्री एवं एमाले सचिव कार्कीले भण्डारीलाई भेटघाट गर्नुले एमालेभित्र ओलीका निकटहरू नै ओलीलाई हटाउन चाहेको बुझिन्छ ।

एमालेले कार्यकर्ताबाट ११औँ अनुमोदित भएपनि जनताले ओलीको नीति र नेतृत्व दुवै अस्वीकार गरेर मत मार्फत विकल्प रोज्न दिएको सुझावलाई मनन् गर्दै एमालेमा भित्रभित्रै यस्तो बहस चल्न थालिसकेपछि कार्कीले यो विषयमा आन्तरिक छलफल गर्न थालेका हुन कि भन्ने अनुमान गरिएको छ ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाखमतसहित संसदमा दोस्रो ठुलो दल बनेको एमाले फागुन २१ मा सम्पन्न निर्वाचनमा संख्याको हिसाबले निकै तल झरेको मात्र होइन, उठ्नै नसक्नेगरी पछारिएको विश्लेषण पार्टीभित्र भइरहेको छ । पार्टीको लज्जास्पद चुनावी नतिजाको विषयमा नेतृत्वमाथि उठेको प्रश्नमा स्वयं अध्यक्ष ओलीले अहिलेसम्म मुख खोलिसकेका छैनन् । तर एमालेका अधिकांश नेता कार्यकर्ता अध्यक्ष ओलीको नीति र नेतृत्व तथा कार्यशैलीकै कारण ठुलो क्षति व्यहोर्न बाध्य भएको ठहरसहित अब नीति र नेतृत्वको विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, महाधिवेशनमा महासचिवमा पराजित नेता सुरेन्द्र पाण्डे, एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलगायत नेताले नेतृत्व फेरबदल विषयमा मुख खोलेका छन् ।

पार्टीदेखि जनवर्गीय संगठनमा समेत पुनर्संरचना र नेतृत्व परिवर्तनको बहस भइरहेका बेला अध्यक्ष ओलीले भने ‘आफू कुनै पनि हालतमा राजीनामा नदिने’ अडानमा छन् । केन्द्रीय कमिटी बैठक ‘फेस गर्ने’ भन्दै ओली बैठक डाक्ने गृहकार्यमा छन् । यद्यपि नेता–कार्यकर्ताले यो बहस पार्टीका औपचारिक कमिटीमा गर्न पाएका छैनन् । ओलीलाई शुक्रबार मात्रै पितृशोक परेका कारण केही दिन एमालेभित्र यो बहसले प्राथमिकता नपाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्