Logo
Logo

विभिन्न अनलाइनमा आएको गलत समाचारप्रति वामदेवको आपत्ति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले केही गैरआवासीय नेपाली नेतासँग भनेको भनी ‘जनता टाइम्स’ लगायतका अनलाइनहरुले भन्दै नभनेका कुराहरु बिनाआधार, बिनाप्रमाण प्रकाशित गरेकामा आपत्ति जनाउँदै खण्डन गरेका छन् ।

कोभिड– १९ को संक्रमण बढेसँगै उहाँले पार्टीका केही शीर्ष नेताबाहेक समाचारमा उल्लेख भएका वा नभएका अन्य कोही व्यक्ति, समूहसँग भेट नभएको तथा कुनै सभा, सम्मेलन र अन्य छलफलमा पनि उपस्थिति नभएको स्पष्ट पारेका छन् ।

गौतमको सचिवालयद्वारा मंगलबार एक विज्ञप्ति प्रकाशित गरी पार्टीभित्र चल्ने बहस र छलफललाई पार्टी बाहिर ल्याएर गरिने अनुचित टिप्पणी तथा बहस सर्वथा अस्वीकार्य भएको भनाइ छ । विज्ञप्तिमा भनिएको छ ‘पार्टीका नेता र कार्यकर्ताबीच फाटो ल्याउने नियतबाट प्रेरित उक्त समाचार पार्टीको प्रचार फाँटकै जिम्मेवार साथीले सम्पादन गर्ने अनलाइनबाट प्रकाशित गरिनु अझ बढी निन्दनीय विषय हो ।’

उक्त समाचारमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इंगित गर्दै उल्लेख भएको ‘अब कसैका कुनै कुरा सुनिन्न, उनलाई सकाइन्छ…’ जस्ता अशिष्ट, अमर्यादित शव्दावली वामदेव गौतमबाट आजसम्म कहीँ, कतै व्यक्त नभएको स्पष्ट पारिएको छ । तसर्थ, ‘बन्द कोठाभित्र यस्ता नियोजित समाचारका कारखाना चलाउने साथीहरुलाई हामी उक्त समाचारको प्रमाण प्रस्तुत गर्न चुनौति दिन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

पार्टीभित्र विधि र पद्धति स्थापित गर्नका निम्ति अहिले जारी अन्तरसंघर्षलाई विषयान्तर गर्दै अनुचित, अप्रासांगिक र बद्नियतका साथ यस्ता किसिमका समाचार प्रकाशित भइरहेका छन् । यसप्रकारका समाचार तथा प्रचारवाजीको भ्रममा कोही पनि नपर्नुहुन देश र विदेशमा रहनुभएका पार्टीका समस्त नेता, कार्यकर्ता, शुभचिन्तकहरुमा हामी हार्दिक अनुरोध गर्दछौँ, सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्