
टोकियो पुगेको भोलिपल्ट नै समय खेर जान नदिन पहिलो पल्ट पुग्न नपाएका ठाउँहरू घुम्ने योजना बन्यो । म पहिलोपल्ट सन् १९९१मा जापान पुगेकी थिएँ । कति छिटो जीवनको घडी घुमिसकेको रहेछ –यसपटक पुग्दा सन् २०१८ भइसकेको थियो । म काठमाडौंमा छँदै आमा–छोरीको सल्लाह र निशिकावाको सुझावमा कहाँ कहाँ कसरी घुम्ने भन्ने कुरा तय भएर टिकटसमेत सबै नै पहिल्यै बुक भैसकेको थियो । यसपाली मेरो सहयात्री र गाइड आफ्नै छोरी रोलिना थिई । उसैको निम्तोमा पुगेकी म ढुक्क थिएँ । छोरीलाई अभिभावक बनाउन पाउँदा जीवनको एउटा ठुलो यात्रा पार गरिसकेछु जस्तो अनुभूति भइरहेको थियो । म खुसी थिएँ ।
जापान पुग्नुअघि नै छोरीले सोधेकी थिई – “मामुलाई कहाँ कहाँ पुग्ने इच्छा छ ?’’ टोकियो, ओसाका, कोबे, क्योटो आदि ठाउँहरू त उहिल्यै घुमिसकेकी थिएँ । यसपाली हिरोशिमा पुग्ने इच्छा थियो । हिरोशिमाबारे सानैबेलादेखि धेरै कुरा सुनेको थिएँ । त्यो ठाउँ नदेखे पनि त्यहाँको बारेमा कहिले कविता लेखेकी थिएँ, कहिले विनाशकारी एटम बम आक्रमण र मानव क्षतिको दुःखद कथाबारे बोलेकी थिएँ । यसपल्ट भने त्यहाँ पुगेरै हेर्ने तिव्र इच्छा थियो । इच्छा गरेपछि कुनै न कुनै दिन पुरा हुने रहेछ ।
मार्च १३ को दिन बिहानै हिरोशिमाको निम्ति रेल चढ्यौं– आमाछोरी । होटल पहिल्यै बुक भइसकेको थियो । एउटा नेपाली रेस्टोराँमा गएर दालभात नै खायौँ । एकजना नेपाली कामदारसँग नेपालीमा नै कुराकानी ग¥यौँ । नाम त बिर्सेँ त्यो भाइको– त्यसबेला उनीसँग कुरा गर्दा फेरि एकपल्ट नेपाल दुख्यो । कामको निम्ति जापान आएका रहेछन् । मान्छे हेर्दा जवानै थिए, उमेर सोधिनँ ।
पाँच वर्षदेखि उनी लगातार त्यही ठाउँमा काम गर्दै रहेछन् । एकपल्ट पनि घर फर्किन पाएका रहेनछन् । आफ्नो परिवारका कसैसँग भेट हुने कुरै भएन । त्यति मात्र होइन, त्यहाँ पुगेदेखि जापानकै अन्य ठाउँमा समेत कहिल्यै घुमफिर गर्न पाएका रहेनछन् । हामी टोकियोबाट आएको भन्दा “खोइ, मैले त टोकियो पनि देख्न पाएको छैन’’ भने । उनको त्यो खुइय सास फेराइ मेरो निम्ति असह्य भयो । नेपालको अवस्था बुझ्न नेपाल बसेर मात्र पुग्दो रहेनछ । देश बाहिर जान बाध्य भएका कामदार युवाहरूको अवस्थाले धेरै कुरा बताउँदो रहेछ ।
खान लाउन त उनलाई चिन्ता थिएन– रेस्टोराँमा काम छ, देखाउनैका निम्ति पनि नि राम्रै कपडा लगाउनु पर्छ । तर मुटुमाथि ढुङ्गा राखी हास्नु पनि अनिवार्य थियो उनलाई । महिनामा कति पैसा बचाउन सक्थे र परिवारलाई पठाउन पाउँथे, त्यो मलाई थाहा भएन । तर वर्षौंदेखि खान र लाउनको निम्ति मात्र परिवारबाट टाढा रहेर एउटा शहरको एउटै कुनामा जीवन बिताउनु त नजरबन्द भएजस्तै त लाग्दो हो ! देशदेखि टाढा आएर बस्न बाध्य एउटा मान्छेको अवस्थाले देश र नागरिकको धेरै कथा एकैपटक सुनाएजस्तो लाग्यो । धेरै कुरा सोच्न लगायो ।
बेलैमा हिरोशिमा पुगेकोले उज्यालोमा हिरोशिमा देख्न पाउँदा खुसी लाग्यो । मनमा कोरेको चित्रभन्दा धेरै राम्रो देखेँ हिरोशीमालाई । सन् १९४५ अगस्ट ६मा अमेरिकाले परमाणु बम खसालेर ध्वस्त बनाएको यो ठाउँ– मानव क्षतिको ठुलो दुर्भाग्यको इतिहासमात्र होइन, राग, द्वेष, अहंकार, इष्र्याजस्ता मानवीय कमजोरी कतिसम्म विध्वंशक बन्न सक्छन् भन्ने कुराको अभिलेख बनेर उभिएको ठाउँ हो । अनि निर्माण र पुनर्निर्माण गर्न सक्ने मानवमा अन्तर्निहित शक्ति र क्षमताको प्रमाणपनि हो । जापानीहरुको धैर्य र प्रयत्नले प्रतिशोधको सट्टा शान्तिले ठाउँ पाएको एउटा उदाहरणीय ठाउँ भइसकेको रहेछ हिरोशिमा ।
पुगेको दिन त्यही बूक गरेको होटलमा बस्यौँ । कुनै हतार नगरि हिरोशिमा घुम्नै भनेर दुई दिन नै छुट्टयाएका थियौं । भोलिपल्ट दिन भरी घुम्न निस्क्यौँ । सुन्दर घरहरू, सुन्दर सडकहरू । अहिले हेर्दा कुनैबेला त्यसरी ध्वस्त भएको पनि थियो भनेर अनुमान नै गर्न नसकिने । तर जब हामी म्युजियममा पस्यौँ, आँखाबाट आँसु बग्यो । कसरी सहन सक्यो होला जापानले त्यस्तो अवस्थालाई ! म्युजियममा राखिएका हरेक चीजले सुनाइरहेका थिए– मान्छेको दुर्दशाका कथाहरू । अरूप्रति करुणा र मैत्री नहुँदा आफैले पनि भोग्नुपर्छ दुर्दशा भन्ने सामन्य चेत पनि शासकहरु बिर्सिरहँदा रहेछन् । हिजो त्यस्तो थियो । आज त्यस्तै छ । भोलि ? थाहा छैन ।
हिरोशिमाको शान्ति स्मारक पार्कमा पुग्दा लाग्यो – शान्ति स्थापना पनि त सम्भव रहेछ ! मान्छेले नै त गर्ने हो त्यो पनि । आशा पलायो । मनको शान्तिका निम्ति लेखिएका, शान्तिका प्रतिकका रुपमा राखीएका धेरै कृतिहरूको प्रदर्शन पनि थियो त्यहाँ । तर पुराना घाउहरु अझै निको नभइसकेको महशुस भयो । अहिलेको एउटा प्रमुख पर्यटन स्थल नै भइसकेकोले जापान पुग्ने धेरै मान्छेहरु हिरोशिमा पुग्ने पनि रहेछन् । पार्क भित्र मृगहरु निर्धक्क घुमिरहेका हुँदारहेछन् । मान्छेसँग नडराइकन हात हातमा खाने कुरा माग्न आउने पनि रहेछन् । रमाईलो लाग्यो ।
त्यो बेलाको बमले ध्वस्त भएको ‘केनबाकु डोम’ को भग्नावशेषलाई जोगाएर जस्ताको तस्तै प्रदर्शनको निम्ति राखेका छन् । पीडाको एउटा कलात्मक नमुना भएर उभिइरहेको रहेछ त्यो । पानीमा त्यसको छायाँ पनि सुन्दर लाग्छ । त्यो पीडा र त्यो सुन्दरता कुन छायाँ हो, कुन वास्तविकता – म गमिरहेँ । पारीपट्टि बसेर तस्बिर खिच्यौं हामीले । नजिकैको बेन्चमा बसेर नोटबूक निकालेर केही लेखें पनि । हिरोशिमाको पीडालाई आत्मसात गर्दै केही भावनाहरु पोखेँ । युद्ध र शान्तिको पाठ एकैचोटी सिकाइरहेको यो ठाउँबाट पनि होला जापानीहरुले अझै मिहेनत गर्न सिकेको । नागासाकिको नाम पनि सँगै जोडिएर आउँछ हिरोशिमासँगै । एकार्को पर्याय बनेकाछन् दुवै । तर नागासाकि गएनौँ । यो ठाउँ हेरेपछि अर्को ठाउँ हेरिरहनु पर्छ भन्ने पनि लागेन । अहिले हिरोशिमा विश्व शान्तिको सन्देश दिन बिशेष ठाउँको रुपमा पनि चिनिन्छ ।
ठाउँ–ठाउँमा शान्तिका नाराहरू लेखिएका रहेछन् । हेर्नै नसकिने तस्बिरहरु पनि अझै छन् । त्यो दुखद् घटना पछि धेरै जापानीहरुले हतियार त्याग गरी शान्तिको खोजमा बुद्धको बाटो पकड्नेहरु पनि बढेछन् । त्यसपछि शान्ति प्रेमी जापानीहरुले अरु देशमा पनि युद्धको सट्टा शान्ति फैलियोस् भनेर शान्ति स्तुपाहरु बनाएका रहेछन् ।
दुईदिनसम्म हिरोशिमामा बस्दा जापानबारे धेरै कुरा अनुभव गर्न पायौं । अगस्तको ६ तारिखको दिन नेपालमा पनि हिरोशिमा दिवस मनाइन्छ । कहिलेकाहीँ आफैले कविता पाठ गरेको सम्झना छ । तर अझै पनि विश्वमा द्वन्द्व घटिसकेको छैन । बारुद बमको वर्षा रोकिएको छैन । मान्छेले साँच्चै कहिले पाठ सिक्ने होला ?











