काठमाडौं । अविरल हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । शुक्रवार दिउँसोदेखि जारी हिमपातले रुकुमपूर्वको भूमे गाउँपालिका-१ अन्तर्गत पर्ने लुकुम-पातिहाल्ना सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ । सडक बन्द भएसँगै काठमाडौंबाट छुटेका रात्री बसहरूसहितका सवारीसाधन सो क्षेत्रमा अलपत्र परेका छन् ।

हालसम्म ७ वटा बस, एक जिप र ५ मोटरसाइकल हिमपातका कारण अघि बढ्न नसकी सडकमै रोकिएका छन् । ती सवारीसाधनमा सवार २५० भन्दा बढी यात्रुहरू अलपत्र परेका जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
लगातारको हिमपात र वर्षाका कारण सडक खुलाउने काममा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । त्यसमाथि, सो क्षेत्रमा दूरसञ्चार सेवासमेत अवरुद्ध हुँदा उद्धार तथा समन्वयमा थप समस्या उत्पन्न भएको छ ।
प्रहरीले स्थानीय तहसँग सहकार्य गर्दै यात्रुहरूको उद्धारको प्रयास भइरहेको जनाएको छ। मौसममा सुधार नआएसम्म पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन कठिन छ ।











