Logo
Logo

पेप्सीलाई उन्मुक्तिको तयारी


- दृष्टि न्युज/संवाददाता


धरान, २७ कात्तिक । नक्कली भ्याट बिल प्रयोग गरी झण्डै २ अर्ब रुपैयाँ राजस्व छलेको अभियोगमा मुद्दा चलाइएका बहुराष्टिय कम्पनी पेप्सीकोलाका उत्पादक वरुण वेभरेज प्रालिका सञ्चालकहरुले राजनीतिक पहँुचवालालाई प्रयोग गरेर मुद्दा मिलाउन लागेको थाहा हुन आएको छ ।


एक अर्ब ९८ करोड ८८ लाख बराबरको भ्याट छली गरेको अनुसन्धानबाट पत्ता लागेपछि राजस्व अनुसन्धान विभागले २०७४ साल पुस ३ गते वरुण वेभरेज प्रालि र त्यसका सात जना सञ्चालकहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दालाई काठमाडाँै जिल्ला अदालतले पाटन उच्च अदालतमा पठाएको थियो । बिक्रेता र क्रेताबीच बिलविजक आपसमा नमिलेको पाइएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको थियो । आर्थिक वर्ष २०७०÷७१ देखि ०७५÷७६ सम्म भ्याट छली गरी आम्दानी बढाइ बढी लाभांश वितरण गरेको आयकरतर्फ लाभान्ससमेत गरी ६४ करोड ९६ लाख रुपैयाँ कर छली गरेको अनुसन्धानमा देखिएको थियो ।

विभागले वेभरेजबाट १ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक जमानत लिई मुद्दा दायर गरेको थियो । यसरी मुद्दा दायर गरिएका सञ्चालकहरुमा वेभरेजका शेयर सदस्य रविकान्त जयपुरीया, रोहित कोहली, प्रवीणकुमार अग्रवाल, विनोदकुमार सिंह र अशोक कुमारसहित सात जनाविरुद्ध मुद्दा चलिरहेको छ । तर उनीहरुलाई बिगो जरिवानाभन्दा १ अर्ब ६४ करोड रुपैयाँ कम अर्थात् बिगोभन्दा कम ४४ करोड मात्र तिराएर छाडिन लागेको बताइन्छ । उनीहरुलाई छाड्नका लागि वर्तमान उपराष्ट्रपति र गृहमन्त्रीका छोराद्वय दिपेश पुन र प्रतीक थापाले होटल मेरियटमा बसेर व्यापारीहरुसँग २० करोडमा बार्गेनिड भइरहेको सूत्रले बताएको छ ।

वरुण वेभरेजले कर छली गर्ने उद्देश्यले नक्कली भ्याटको कारोवार गर्ने गिरोहसँग मिलेमतो गरी वास्तविक वस्तुको खरिद नै नगरी नक्कली कर विजक जारी गर्ने उद्देश्यले दर्ता गरिएको फर्महरुबाट जारी गरिएको बिलहरु प्रयोग गरिएको थियो । वरुणले पेप्सीलाई वोटलिड गर्दै आएको छ । उसले बहुराष्ट्रिय कम्पनी पेप्सीको फ्रेन्चाइज कम्पनीको रुपमा पेप्सी डाइड, पेप्सी ड्यु, मिरिण्डा, सेभेनअप, अटोमिललगायत सामानहरु बिक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्