
काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमा दुई सय २६ जना पक्राउ गरेको छ ।
प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको अभियानका क्रममा यही चैत १८, १९, २० र २१ गते गरी दुई सय २६ जनालाई पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अभियान अन्तर्गत दुई सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया थालिएको जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार १८ गते काठमाडौं उपत्यकाबाट ५१ जना, कोशी प्रदेशबाट १८ जना, १९ गते कोशीबाट एक, मधेस प्रदेशबाट सात, बागमतीबाट २३, गण्डकीबाट दुई र कर्णालीबाट ११ जना पक्राउ परेका थिए ।
यस्तै, २० गते मधेस प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई तथा २१ गते काठमाडौं उपत्यकाबाट ६२ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा दुःख र हैरानी दिने, सार्वजनिकस्थलमा अभद्र व्यवहार गर्नेलगायतका व्यक्तिहरू छन् । अभियान जारी रहने प्रहरीले जानकारी दिएको छ ।











