Logo
Logo

ओलीलाई पदत्याग गर्न महासचिव शंकरको दबाब


7.2k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक बिदाइ गर्ने विषयमा पहिलो पटक सचिवालय बैठकमा छलफल भएको छ । संसद्मा रामबहादुर थापा ‘बादल’ले पार्टी नीति विपरीत धारणा राखेपछि त्यो विषयमा छलफल गर्न चैत २० गते बसेको सचिवालय बैठक बोलाइएको थियो । सो बैठकमा ओलीको बिदाइबारेसमेत छलफल भएको बताइन्छ । यद्यपि, यो विषयमा पदाधिकारीहरू कसैले पनि आफ्नो धारणा राखेका छैनन् ।

ओली प्रहरी हिरासतमा भएकाले सुरुमा ओली हिरासतमुक्त भएपछि सचिवालय बैठकमा निर्वाचनको समीक्षा गर्ने, केन्द्रीय कमिटीको बैठक बोलाउने र त्यहाँ नीति र नेतृत्वको बारेमा सबै केन्द्रीय सदस्यको धारणा बुझ्ने र त्यसपछि मात्रै ओलीलाई सम्मानजनक बिदाइबारे विकल्पमाथि छलफल गर्ने एमाले स्रोतले बताएको छ ।

एमालेमा विद्या भण्डारीनजिक मानिएका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले बैठकमा ओलीको रिहाइ पहिलो प्राथमिकता भएको धारणा राखिरहँदा उपाध्यक्ष विष्णु पौडेलले अब ओलीको नेतृत्वबाट एमाले अघि बढ्न नसक्ने धारणा राखेका थिए ।

उनले यो धारणा राख्दै गर्दा शंकर पोखरेलले पनि नेतृत्वको बारेमा छलफल गर्न सकिने भन्दै लचकता अपनाएका थिए । यसरी चैत २० गते ६ घण्टा चलेको सचिवालय बैठकमा ओली अनुपस्थित रहेका बेला पार्टी नेतृत्वबारे खुलेर छलफल भएको थियो । एमालेका नेताहरूले कार्यवाहक अध्यक्ष बादलले प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा गरेको सम्बोधनको विरोध गरेका थिए ।

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालबाटै संसदीय दलका नेता बादलले गलत बोलेको धारणा राखेका थिए । चैत २० गते बसेको एमालेको सचिवालय बैठकमा यस विषयमा छलफल भएको थियो ।

बैठकमा भानुभक्त ढकालबाहेक अन्य नेताहरूले ओली र अहिलेको चुनावबारे खुलेर धारणा राखेका थिए । ढकालले भने हिरासतमा भएको बेला नेतृत्वको विषयमा छलफल गर्नु हुँदैन भन्दै ओलीको बचाउ गरेका थिए ।

ओलीका विश्वासपात्र र पार्टीका प्रभावशाली पदाधिकारीहरू नै अहिले ओलीको विपक्षमा उभिएका बेला ढकाल मात्रै एउटा यस्ता पात्र हुन्, जसले ओलीको बचाउ गरे । ढकाल ओम्नी काण्डमा जोडिएका बदनाम पात्र हुन् । ओम्नी काण्ड घटाउनकै लागि ओलीले उनलाई स्वास्थ्यमन्त्री बनाएका थिए ।

स्रोतका अनुसार एमाले बैठकलगत्तै सचिवालयमा बहुमत जुटाएर विधानसम्मत रूपमा ओलीलाई पदबाट हटाउने तयारी गरेको सन्देश बोकेर ढकाल ओलीलाई अस्पतालमा भेट्न गएका थिए । ओलीलाई हटाउने विधि खोजिरहेका नेताहरू यतिबेला अनौपचारिक छलफलमा छन् । कतिपय केन्द्रीय तहका नेताले हस्ताक्षर अभियान पनि अघि बढाएको चर्चा गरेपनि हस्ताक्षर अभियान चलिसकेको छैन । बुद्धिजीवी परिषद्ले ४ लाख हस्ताक्षर गराउने योजना बनाएको छ ।

यता, महासचिव शंकर पोखरेलले ओलीलाई पहिलो पटक नेतृत्व छाड्न आग्रह गरेका छन् । जेनजी आन्दोलनपछि बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिसमा ओली पक्राउ परेपछि महासचिव पोखरेलले अस्पतालमा पुगेर नेता कार्यकर्ताहरूको भावना बमोजिम नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हुने सुझाव ओलीलाई दिएका थिए ।

उनले जिल्ला र पार्टीको तल्लोतहबाटै नेतृत्वको सहज बर्हिगमनबारे कुरा आएको र विशेष महाधिवेशनको कुरा चलिरहेको भन्दै घुमाउरो भाषामा राजीनामा मागेका थिए । तर महासचिव पोखरेलले यसो भन्दा ओलीले उनको सातो खाएका थिए । नेतृत्वलाई अप्ठेरोमा पार्नेले थप केही गर्न सक्दैन भन्दै ओलीले झपारेका थिए ।

‘यसपटक अलि अप्ठेरो होला जस्तो छ, साथीहरूले नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हुने राय दिन थाल्नु भएको छ, अध्यक्ष कमरेडले ‘रिथिङ्क’ गर्ने बेला भयो भन्ने आवाज तलबाटै आयो’, महासचिव पोखरेलले अस्पतालको बेडमा पुगेर ओलीलाई भनेका थिए । तर ओलीले यो विषय सुन्न पनि नचाहेको स्रोतको दाबी छ । ‘ए ! अब तपाईँलाई पनि मनाइसके ? त्यही सुनाउन आउनु भएको ? महासचिवको पद भारी भो ? यस्तो भनेर ओलीले पोखरेललाई झपारेको स्रोतले दृष्टिलाई बतायो ।

महासचिव पोखरेलले नै नेतृत्व छाड्नु प¥यो भनेपछि ओली अहिले तनावमा रहेका छन् । ‘ओलीकै विश्वासपात्र शंकरले पहिलो पटक यस्तो भन्ने दुस्साहस गरे’, एक नेताले दृष्टिसँग भने ‘पोखरेलको यो भनाइ ओलीले सुन्न पनि चाहेनन ।’ ओली र पोखरेलबीच अस्पतालमा झण्डै पार्टीको विषयमा एक घण्टा कुराकानी भएको थियो । महासचिव पोखरेलले बाहिरको परिस्थिति र आन्दोलन तथा अदालतमा भैरहेको विषयहरुबारे पनि जानकारी गराएका थिए । यद्यपि, ओलीले नेतृत्वको छाड्न दिएको सुझावमा केन्द्रित भएर पोखरेललाई बढी हप्काएको स्रोतले बताएको छ ।

महासचिव पोखरेलले ओलीलाई नेतृत्व छाड्न आग्रह गरेको चाल पाएका विष्णु पौडेलले अहिलेको नेतृत्वबाट पार्टी नचल्ने भन्दै पार्टी पुर्नगठनको दस्ताबेज तयार पारिरहेका छन् । त्यसैगरी उनले अर्का उपाध्यक्ष रामबहादुर थापा बादलले संसद्मा दिएको अभिव्यक्तिका आपत्ति जनाएका थिए । एमालेका केही पदाधिकारीले भने पौडेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी नपाएका कारण रिसाएर ओली विरोधी अभियानका लागेको बताएका छन् ।

ओली–रिमाल सम्बन्धमा दरार
एमालेको ओलीगुटभित्र विष्णु रिमालको भूमिकालाई लिएर संशय उत्पन्न भएको छ । स्वयं ओलीले नै रिमाललाई सहयोग नगरेको भन्दै प्रश्न उठाएका छन् । निर्वाचनको बेला झापामा एक पटक पनि नपुगेको र निर्वाचनको मत सर्वेक्षणको जिम्मा लिएका रिमालले अन्तिमसम्म पनि एमाले प्रत्यक्षतर्फ ४५ र समानुपातिकमा ३० सिट हिसाब बुझाएर एमाले अध्यक्षलाई गुमराहमा राखेको भन्दै गुटभित्र असन्तोष पैदा भएको छ ।

हालका प्रधानमन्त्री बालेन्द्र साहले पटक पटक चुनावी सर्वेक्षण गरेको झापा –५ मा रिमालको टिमले एक पटक पनि सर्वेक्षण गर्न आवश्यक ठानेन् । ओलीले एक पटक सर्वेक्षण गरिदिन गरेको आग्रहलाई पनि उनले सुनेको नसुनेझैँ गरेका थिए ।

‘रिमालजीले त्यति ठूलो आइटीको टिम चलाउनु भयो, ओली प्रधानमन्त्री हुँदा राज्यका सबै सेवा सुविधा र शक्ति परिचालन गर्नुभयो । तर एक पटक झापा ५ को सर्वेक्षण गर्न आइटी टिम पठाउनु भएन’, ओलीनिकट रहेका एक पदाधिकारीले दृष्टिसँग भने । साथै ओलीले हार्ने भन्ने निश्चित जस्तै देखिएको भए उम्मेदवारी त्यो क्षेत्रबाट नदिनेसम्मको तयारीमा भएपनि जितिन्छ भन्ने रिपोर्ट सबैभन्दा खतरनाक भएको पनि ओली टिमको भनाइ छ ।

रिमालको आइटी टिममा अस्गर अली रहेका थिए । ओली प्रधानमन्त्री हुँदा अस्गर सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त भएका थिए । उनी अवैतनिक अर्थात् सेवा सुविधा नलिने गरी सचिस्तरको विज्ञ पदमा नियुक्त भएपनि आइटीको सबै काम उनले हेर्ने गरेका थिए ।

२०७४ मा ओली प्रधानमन्त्री हुँदा पनि अली सूचना प्रविधिविज्ञ थिए । अलीको टिममा विष्णु रिमालका छोरा पनि रहेका थिए । यतिमात्र होइन ओली प्रधानमन्त्री हुँदा रिमालको माध्यमबाट सूचनाप्रविधिको काम गरेका एक सञ्चारमाध्यम सञ्चालकले समेत बालेनको टिममा सहभागी भएर काम गरेको सूचना ओलीलाई पुगेको थियो ।

त्यसैगरी सेना, प्रहरीले झापा ५बाट ओली हार्ने तथ्यांक तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई दिँदा पनि कार्कीले ओलीसँगको दुई घण्टा भेटमा ‘तपाईँ जित्नुहुन्छ, चिन्ता नलिनुस्’ भनेकी थिइन् । ओलीको अभिव्यक्तिबाट पनि उनी चुनाव जित्नेमा ढुक्क थिए । चार पटक प्रधानमन्त्री भएका व्यक्तिले सेना, प्रहरी र गुप्तचरबाट सही सूचना नपाउनुलाई पनि आश्चर्यका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्