
काठमाडौं । नेकपा एमालेका महिला सांसदहरुले पछिल्लो समयमा किशोरीहरुमाथि भइरहेको साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित साइबर ब्युरोमा लिखित उजुरी दिएका हुन् ।
सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटहरूमार्फत विशेषगरी साइबर बुलिङ, दुव्र्यवहार, अपमानजनक व्यवहार, घृणा र टीकाटिप्पणीले किशोरीहरू मानसिक उत्पीडनको सिकार भएको उजुरीमा उल्लेख छ ।
त्यस्तो व्यवहारले उनीहरुको आत्मसम्मान, मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पारेको उजुरीमा जनाइएको छ । यस्ता साइबर बुलिङसम्बन्धी उजुरीको छिटो र प्रभावकारी छानबिन तथा अनुसन्धान गर्न र पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरिएको छ ।
हालैमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सडक आन्दोलनमा उत्रिएकी युवती अमिसा पराजुलीमा साइबर हमला भएको थियो ।










