Logo
Logo

चीन–नेपाल सम्बन्ध मनैदेखि झन् नजिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ६ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताउनुभएको छ । स्थानीय एभरेष्ट होटलमा शुक्रबारदेखि शुरु भएको ‘युन्नान सांग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको स्पष्ट गर्नुुभयो ।

उहाँले चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । ‘कोभिड–१९ को महामारी भए पनि दुई देशका जनताबीच मनको निकटता झन् झन् बढेको छ’,उहाँले भन्नुभयो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल र चीनबीच सदियाँै पुरानो सम्बन्ध रहेको र साझा विशेषता रहेको बताउनुभयो । बिनाकुनै समस्याका बीच नेपाल र चीनको सम्बन्ध कायम भएको ६५ वर्ष बितेको तथा दुई देशबीच सम्बन्ध फराकिलो हुँदै गएकामा उहाँले प्रशन्नता व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले कोरोना महामारीका कारण नेपालले नेपाल भ्रमण वर्ष २०२० स्थगन गर्नुपरे पनि अवस्था सहज हुनासाथ नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने आशा व्यक्त गर्नुभयो । सरकारले घुमफिरको वातावरणलाई सहज बनाउँदै लगेको मन्त्री भट्टराईको भनाइ थियो । पछिल्लो समय चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालसमेत सहभागी भएको र यसबाट आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

एक सातासम्म चल्ने तस्वीर प्रदर्शनीको संयोजन नेपाल चाइना मिडिया फोरमले गरेको हो । कार्यक्रममा चिनियाँ सरकार र कम्युनिस्ट पार्टीका नेताहरुले भिडियो कन्फ्रेन्समार्फत कार्यक्रम सफलताको कामना गरेका थिए । फोरमका अध्यक्ष किशोर श्रेष्ठले युन्नानसित नेपालको हजारौँ वर्ष सम्बन्ध रहेको तथा दुवैबीच भौगोलिक,जातीय र सांस्कृतिक विविधता रहेको, नेपालबाट एक हजार ७४७ किमीको मात्र दूरी भई अढाइ घण्टाको मात्र हवाई उडान रहेको तथा नेपालका राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीहरु युन्नानमा आयोजित विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेको र मिडियाबीचको सम्बन्ध पनि निकै राम्रो रहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार युन्नानमा दक्षिण एशियाका मात्र २० हजार विद्यार्थी अध्ययनरत छन् । सात दिनको प्रदर्शनीमा युन्नानका भूगोल,जनजाति र संस्कृतिसम्बन्धी मनमोहक ३२ तस्वीर छन् ।

प्रतिक्रिया दिनुहोस्