Logo
Logo

डिप्रोक्स लघुवित्तको खुद नाफा १०६ प्रतिशत बढ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशतभन्दा बढी बढेको छ भने सञ्चालन मुनाफा ऋणात्मक रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा लघुवित्तले १९ करोड ८० लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ५८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक रहेपनि उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २३ करोड ९३ लाख ९४ हजार रुपैयाँबाट बढेर ३६ करोड ३५ लाख ५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १० करोड ९८ लाख २६ हजार रुपैयाँ धनात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब १० करोड ९१ लाख ५६ हजार रुपैयाँ ऋणात्मक भएको छ । लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याएका कारण सञ्चालन मुनाफा ऋणात्मक हुन पुगेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा ७ करोड २० लाख ९० हजार रुपैयाँ छुट्याएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा यस्तो व्यवस्थाबापत १ अर्ब ३७ करोड २६ लाख १४ हजार रुपैयाँ छुट्याएको छ । यद्यपि, लघुवित्तको निष्क्रिय कर्जाको अनुपात भने १.२५ प्रतिशतबाट घटेर ०.६५ प्रतिशतमा झरेको छ ।

१ अर्ब ५४ लाख ३३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी ७७ करोड ३४ लाख १० हजार रुपैयाँ रहँदा जगेडा कोषमा ९६ करोड १५ लाख ३२ हजार रुपैयाँ सञ्चित थियो ।

असोज मसान्तसम्ममा लघुवित्तले ५ अर्ब २५ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९८ करोड ३ लाख रुपैयाँ सापटी लिई कुल १३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिसम्ममा लघुवित्तले ४ अर्ब २२ करोड रुपैयँ निक्षेप र ७ अर्ब ३० करोड रुपैयाँ सापटीबाट १४ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ७८ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर खुद किताबी मूल्य २०७ रुपैयाँ ७९ पैसा रहेको छ । त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात १०.७७ गुणा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्