Logo
Logo

ग्राहक सूचनाको गोपनीयता सम्बन्धी भ्रामक जानकारीको नबिल बैंकद्धारा खण्डन


819
Shares

काठमाडौं। केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नबिल बैङ्कले ग्राहकको गोपनीयता भङ्ग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी चुहावट गरेको भन्ने आधारहीन तथा प्रमाणविहीन प्रचार–प्रसार भइरहेकोप्रति बैङ्कको गम्भीर ध्यानाकर्षण भएको छ ।

The current image has no alternative text. The file name is: nbl.jpg

यस्ता भ्रामक सूचनाले जनमानसमा बैङ्किङ सेवाप्रतिको विश्वासलाई प्रभावित पार्ने प्रयास गरेको देखिएकाले बैङ्क यस किसिमको भ्रमपूर्ण तथा प्रमाणविहीन सम्प्रेषणको स्पष्ट रूपमा खण्डन गर्दछ । मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्न” शीर्षकको समाचारमा स्पष्ट रूपमा कान्तिपुर दैनिकले “अनुसन्धानरत निकायबाट प्राप्त गरेका बैङ्किङ कारोबारको विवरण‘” भनी उल्लेख गरेको छ । उक्त समाचारमा विभिन्न बैङ्क तथा वित्तीय संस्थामा विभिन्न मितिमा भएका कारोबार प्रकाशित भएको तथ्यलाई नजरअन्दाज गर्दै केही व्यक्तिद्वारा सामाजिक सञ्जालमार्फत बैंकविरुद्ध नियोजित रूपमा दुष्प्रचार गरिएकोप्रति बैङ्कको गम्भीर ध्यानाकर्षण भएको छ ।

बैङ्क सम्पूर्ण सरोकारवालाहरूलाई स्पष्ट रूपमा जानकारी गराउन चाहन्छ कि कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि, वा नियामकीय तथा अनुसन्धानकारी निकायले कानूनी प्रक्रिया अनुसार मागेको अवस्था बाहेक बैङ्कले कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध गराउन मिल्दैन, गराउँदैन र गराएको पनि छैन । बैङ्कको कुनै पनि ग्राहकको विवरण कसैले लिएको अवस्थामा बैङ्कको रेकर्डमा कुन मितिमा, कुन कर्मचारीले, कुन प्रयोजनका लागि निकालेको हो भन्ने सम्पूर्ण विवरण तथा लगत बैङ्कको प्रणाली अर्थात् कोर बैङ्किङ सिस्टममा सुरक्षित रूपमा अभिलेखित रहन्छ । यस सम्बन्धमा बैंकमाथि लगाइएका सम्पूर्ण आरोप तथा अनुमानहरू गलत, भ्रामक तथा आधारहीन रहेको कुरा स्पष्ट पार्दछौं । इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैङ्कको हैसियतले नबिल बैङ्क लिमिटेडले प्रचलित कानुन, नियमन, प्रावधान तथा निर्देशन एवं आन्तरिक सुशासन तथा सूचना सम्बन्धी नीतिहरूको पूर्ण रूपमा पालना गर्दै ग्राहक सूचनाको पूर्ण गोपनीयता कायम गर्न कटिबद्ध रहेको जानकारी गराउँदछ। बैङ्किङ गोपनीयता कायम राख्नु तथा ग्राहकको सूचनाको संरक्षण गर्नु बैङ्किङ नैतिकता तथा अनुपालनको आधारभूत सिद्धान्त हो ।

बैङ्कले यस सम्बन्धमा सधैँ उच्चतम मापदण्ड तथा अभ्यासहरूको पालना गर्दै आइरहेको समेत जानकारी गराउन चाहन्छौँ ।

नबिल बैंकजस्तो जिम्मेवार, चार दशकभन्दा बढीको विश्वसनीय इतिहास भएको बैङ्कले कुनै ग्राहकको व्यक्तिगत विवरण कुनै अनधिकृत व्यक्तिलाई हस्तान्तरण गर्ने वा जानकारी दिने सम्भावना छैन र रहँदैन। सूचनाको स्पष्ट स्रोतसहित प्रकाशित समाचारलाई बङ्ग्याउँदै बैङ्क सम्बन्धमा दुष्प्रचार गर्ने व्यक्ति तथा निकायलाई तथ्यहीन दुष्प्रचार नगर्न तथा जनमानसलाई भ्रमित नपार्न आग्रह गर्दछौँ । नियोजित दुष्प्रचार गर्ने व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानूनअनुसार कानूनी कारबाहीको प्रक्रियामा जान बैङ्क बाध्य हुनेछ। बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा सरोकारवालाहरूमा यस्ता दुष्प्रचारमा विश्वास नगर्न हुन अनुरोध गर्दछौँ । साथै, बैङ्कले ग्राहक गोपनीयतामा सधैँ सचेत रही, ग्राहक सुरक्षासम्बन्धी विभिन्न प्रविधिहरूको प्रयोगमार्फत उच्चतम सुरक्षित सेवा प्रदान गर्दै आएको र भविष्यमा पनि निरन्तर उच्च गुणस्तरीय, विश्वसनीय सेवा दिन सधैँ कटिबद्ध रहेको पुनः विश्वास दिलाउन चाहन्छौँ भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्