Logo
Logo

‘राजनेता केपी ओली जिन्दावाद’


- दृष्टि समाचार टिप्पणी


उता धनगढीमा राजावादी समूहले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ । राजा आउ देश बचाऊ…’ भनेर मोटरसाइकल ¥याली गरेको केही दिन नबित्दै यता चितवनमा नेकपा राप्ती नगर कमिटीको बैठकमा त्यही शैलीमा ‘राजनेता केपी ओली जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, मदन भण्डारी फाउन्डेशन जिन्दावाद’को नारा धन्कियो । बैठकको पछिल्लो कुर्चीतिर बसेका केही युवाहरुले यस्तो नारा लगाएर सभा बिथोलेपछि प्रमुख अतिथि एवं नेकपा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले आफ्नो मन्तव्य बीचमै टुंग्याए । सभा बिथोल्न पुगेका युवाहरुले लगाएको नाराबाटै उनीहरु मदन भण्डारी फाउण्डेशनका हर्ताकर्ता हुन् भन्ने बुझिन्थ्यो । नारा लगाउनेहरुमध्ये एक जना नेकपाका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया थिए भने, अर्का प्रदेशका कृषिमन्त्री दावा लामा र उनका पिए प्रकाश कालाखेती र केदार आचार्य थिए । उनीहरु अन्य वक्ता बोल्दा ताली पिटिरहन्थे । जब प्रमुख अतिथिका रुपमा पाण्डेले माइक समाए, त्यसपछि सभा भाँड्न उत्तेजित नारा लगाए । यसबाट के बुझ्न सकिन्छ भने, यो सुनियोजित घटना हो । यसको जति भत्र्सना गरे पनि अधुरो हुन्छ ।

नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले नेकपाभित्रको समस्या समाधानको उपाय खोज्दै जाँदा नेकपाको आगामी महाधिवेशनसम्म नेताका नाममा स्थापित कुनै पनि प्रतिष्ठान, फाण्डेशनले सार्वजनिक रुपमा गुटगत कार्यक्रम नगर्न सर्कुलर जारी गरेको थियो । त्यही रिस पोख्न स्थायी कमिटी सदस्य पाण्डेको कार्यक्रम बिथोलिएको बुझ्न सकिन्छ । त्यसो त नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेलले केही साता अगाडि प्रदेश नम्बर १ का कार्यकर्ताहरुलाई ‘जुम’ बैठकमार्फत जबजको पक्षमा आवाज उठाउन निर्देशन दिएका थिए । यसले पनि पार्टी निर्णय उल्लंघन भएको छ । पार्टीको एकतालाई जोगाइराख्ने हो भने यस्ता गतिविधि रोक्नुपर्छ र जननेता मदन भण्डारीको नाममा गुण्डागर्दी शैलीमा उत्रने नेकपाका कार्यकर्तामाथि अनुशासनको कारवाही गर्नुपर्ने हुन्छ ।

जननेता मदन भण्डारी कुनै विवाद गर्नुपर्ने नाम होइन । भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई शिखरमा पु¥याउन ‘जबज’ प्रतिपादन गरेका हुन् । उनका नाममा खोलिएका प्रतिष्ठान, संघसंस्था रचनात्मक र सिर्जनात्मक काममा लाग्नुपर्छ । विचार भनेको बलबाट प्राप्त हुने कुरा होइन । मदनको विचारका नाममा चितवनमा जस्तै अन्य ठाउँमा पनि बल प्रयोग गर्ने हो भने यो प्रतिष्ठान ढिलोचाँडो राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका रुपमा परिणत हुनेछ र त्यसले पञ्चायत व्यवस्थालाई बदनाम गर्नेदेखि अवसानसम्म पु¥याउने जुन पृष्ठभूमि तयार ग¥यो, त्यही पृष्ठभूमि मदन भण्डारी फाउण्डेशनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तयार नपार्ला भन्न सकिन्न । त्यसैले पार्टी विवाद चर्किएको बेला यस्ता उच्छृंखल घटना हुनु नेकपाको लागि दुर्भाग्यपूर्ण कुरा हो । कम्युनिष्ट पार्टी र तिनका कार्यकर्ता भन्नासाथ संगठित, जुझारु र अनुशासित भन्ने आम बुझाई छ । विधि, पद्धति र सांगठनिक ढंगबाट चल्ने पार्टीमा यस्तो विकृति र विसंगति भित्रनुलाई दुर्भाग्य नै भन्नुपर्छ ।

यस घटनाका विषयमा पाण्डेसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो– म राप्ती नगरपालिकामा पार्टीको नगर कमिटी बैठकमा अतिथिका रूपमा सहभागी हुन गएको थिएँ । मैले त्यहाँ सम्बोधन गर्दा पार्टीभित्र विभिन्न प्रतिष्ठानका नाममा गुटहरू चलेका छन्, यसलाई रोक्नुपर्छ भन्ने आवाज पहिलादेखि थियो र त्यसमा दुई अध्यक्ष, सचिवालयका अन्य कमरेडहरू पनि सहमत हुनुभयो । त्यसैअनुसार हामीले विवाद समाधान गर्ने कार्यदलमार्फत प्रतिष्ठानमार्फत हुने गुटगत गतिविधि रोक्ने प्रस्ताव ग¥यौँ । फेरि दुई अध्यक्षले सहमति गर्नुभयो । त्यसको कार्यान्वयन हुनुपर्छ भनेर के थिए– त्यहीवेला केही युवाहरू जुरुक्क कुर्चीबाट उठे । नाराबाजी गर्न थाले । राजनेता केपी ओली जिन्दावाद, जबज जिन्दावाद, मदन भण्डारी फाउन्डेसन जिन्दावाद भनेर नारा लगाए । बैठककक्षमा प्रवेश गर्दा मेयरसँगै केही युवा आएका थिए । तीमध्ये केही चिनेका थिए र केही नचिनेका । उनीहरू मदन भण्डारी फाउन्डेसनसँग जोडिएका होलान् भन्ने लाग्यो । जंगलमा आगो लगाएर रूख जोगाउन सकिन्न । खराब सोचले आफैँलाई सक्छ । यस विषयमा पार्टीभित्र पनि छलफल, बहस हुनुपर्छ भन्ने मलाई लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्