Logo
Logo

आडवाणीको पशुपति दर्शनको धोको !


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

भारतको सत्ताधारी पार्टी भारतीय जनता पार्टी (भाजपा) लाई जिरोबाट हिरो बनाउने भाजपाका संस्थापक सदस्य तथा भाजपाका शिखरपुरुष लालकृष्ण आडवाणी गएको ८ नोभेम्बरमा ९३औँ वर्षमा प्रवेश गरेका छन् । उनलाई आफ्नो ट्वीटरद्वारा शुभकामना दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्– भाजपालाई जनतामाझ पु¥याउनाका साथसाथै देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रद्धेय लालकृष्ण आडवाणीजीको जन्मदिनमा धेरै धेरै बधाई । उहाँ पार्टीका करोडौं कार्यकर्ताका साथसाथै देशवासीका प्रत्यक्ष प्रेरणा स्रोत हुनुहुन्छ । म उहाँको स्वस्थ जीवन र लामो आयुको कामना गर्दछु । आडवाणीको जन्म सन् १९२७ नोभेम्बर ८, वर्तमान पाकिस्तानको कराँचीमा भएको थियो ।

आडवाणीले नै सन् १९८४ को लोकसभा आमचुनावमा २ सिटमा खुम्चिएको भाजपालाई नयाँ जीवन दिएका हुन् । यसमा कुनै शंका छैन । त्यसपछि सन् १९८९ मा उनको नेतृत्वमा लडेको आमचुनावमा पहिलोपटक भाजपालाई दिल्लीको सत्तामा आरुढ गराएका हुन् । त्यसैलै उनलाई भाजपालाई जिरोबाट हिरो बनाएको श्रेय दिइन्छ । र अहिलेका राष्ट्रपति रामनाथ कोविदलाई समेत उनले नै भाजपामा भित्र्याएका हुन् ।

लालकृष्ण आडवाणीलाई बधाई दिन प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र भाजपाका अध्यक्ष जेपी नड्डा आडवाणीको निवास पुगेका थिए ।

सन् २००४ को जुन महिनामा उनले संसदको विपक्षी दलको नेता तथा भाजपाको अध्यक्षको रूपमा आफ्नो जन्मस्थान पाकिस्तानको कराँची यात्रा गरेका थिए । जहाँ उनले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको मजारमा गएर श्रद्धाञ्जलि दिँदै भनेका थिए– उनी एक असल धर्मनिरपेक्षवादी थिए । र उनले साथसाथै बाबरी मस्जिद ध्वस्त भएकोमा खेदसमेत व्यक्त गरेका थिए ।

यस बयानलाई लिएर भारतमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले आक्रोश व्यक्त गरेका थिए भने विश्व हिन्दू परिषद् (विहिप) ले त आडवाणीलाई पदै छोड्ने माग गरेको थियो । भाजपाका हालका प्रवक्ता राम माधवले भनेका थिए– आडवाणीलाई यसबारेमा सोधिने छ । तर उनी आफ्नो बयानबाट टसमस भएनन् ।

यसपछिका दिनहरूमा भाजपामा कट्टर हिन्दूवादी हाबी भएपछि आडवाणीलाई किनारा लगाइयो । र हाल आडवाणीलाई भाजपाको मार्गनिर्देशक समितिमा खुम्च्याइएको छ । त्यो घटना न भएको भए आडवाणी अहिले पनि प्रधानमन्त्री नै हुन्थे । किनभने, भाजपाको वर्तमान नेतृत्व आडवाणीको अगाडि सबै पुड्का छन् ।

२८ नोभेम्बर १९९८ मा आरएसएस र भाजपाको मुखपत्र पाञ्चजन्य साप्ताहिकको स्वर्णजयन्तीको अवसरमा उनको दिल्लीस्थित उनको निवासमा यिनै आडवाणीसँग लेखकको भेटको संयोग जुरेको थियो । जब उनी भारतका उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए, मैले उनलाई सोधेको थिएँ– आडवाणी जी ! तपाईँ नेपाल किन नआउनु भएको ? उनको जवाफ थियो– नेपाल सरकारले बोलाएको छैन ! नबोलाइकन कसरी जानु ! एकचोटी नेपाल गएर पशुपतिको दर्शन गर्ने इच्छा त थियो !

अहिले नेपालको ओली सरकार भारतसँग सम्बन्ध सामान्यीकरण गर्न अनेक उपाय गरिरहेको छ । त्यसैअन्तर्गत भारतको बाह्य सुरक्षा हेर्ने गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङका प्रमुख सामन्तकुमार गोयल र त्यसपछि भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण भइसकेको छ भने केही दिनपछि विदेश सचिव हर्षवद्र्धन श्रृङ्गलाको भ्रमण हुँदैछ । त्यसपछाडि विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहको भ्रमणको तयारी हुँदैछ । यस परिप्रेक्ष्यमा भाजपाका वरिष्ठतम नेता लालकृष्ण आडवाणीको पशुपति दर्शनको धोको पु¥याउन सके नेपाल–भारत सम्बन्धमा कोशेढुंगा साबित हुनेछ । सरकारको यसमा ध्यान पुगोस् ।

Twitter:@rmshghimire

 

प्रतिक्रिया दिनुहोस्