Logo
Logo

पचास करोडमा प्रहरी चलखेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ मंसिर । नक्कली कागजपत्रकै आधारमा एक युवाले करिब ५० करोड मूल्यबराबरको जग्गा अर्काको नाममा नामसारी गरिदिएको घटनाको अनुसन्धानमा प्रहरीबाट चलखेल भएको छ । मालपोत कार्यालय पर्साको सहयोगमा ललितपुरका केवलप्रतापजंग राणाले कमला राजभण्डारीको नाममा रहेको जग्गा उनको छोरा बनेर नामसारी गराएका थिए । तर, यसमा सलग्न मालपोत कर्मचारी लगायतलाई उन्मुक्ति दिइएको छ ।

राणाले आफू कमलादेवीको छोरा मुकेश राजभण्डारी भएको भदै त्यही नामबाट नक्कली नागरिकतालगायतका विविध कागजपत्र मालपोत कार्यालयमा पेस गरेर जग्गाको नामसारी गरेका थिए । वीरगन्ज महानगरपालिका– ५ स्थित पाँच कट्ठा १५ धुर नौ कन्चा जग्गा, त्यसमा बनेको घर आफ्नो नाममा ल्याएका थिए । गत ११ फागुनमा मालपोत कार्यालयले चलखेलका आधारमा जग्गा उनको नाममा राजीनामा पास गरिदिएको हो । जून काम मालपोत कर्मचारीको सहयोग बिना सम्भव छैन ।

राणाले सो जग्गा बिक्रीका लागि एकातर्फ ५० लाख बैना लिइसकेका थिए भने अर्काेतर्फ बैंकमा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाएका थिए । मुख्य बजारमा रहेको सो घरजग्गा राजभण्डारी परिवारको पुख्र्याैली जग्गा हो । उनीहरू हाल त्यहाँ नबस्ने भएकाले राणाले नक्कली कागजपत्र बनाएर ठगी प्रयास गरेका हुन् । करिब दुई महिना लामो अनुसन्धानपछि सिआईबीले उनलाई पक्राउ गरेर पर्सा प्रहरीमा बुझाएको थियो । तर, दबाब र चलखेलका आधारमा पर्सा प्रहरीले मालपोत कर्मचारी लगायत गिरोहमा संलग्न अन्यलाई पक्राउ गर्न सकेको छैन ।

यसरी खुलेको थियो रहस्य

बैना गरेपछि राणाले गिरधारीलाल अग्रवाललाई जग्गा देखाउन लगेका थिए । जग्गा हेर्ने क्रममा छिमेकीले देखेपछि कमला राजभण्डारीका छोरा राजेश राजभण्डारीलाई फोन गरे । राजेश मर्केन्टाइन कम्युनिकेसनका सञ्चालक हुन् । उनले आश्चर्य मान्दै आफूहरूले जग्गा बेच्ने कुनै तयारी नगरेको बताए । शंका लागेर मालपोत कार्यालयमा गएर बुझ्दा मुकेश राजभण्डारीको नाममा घरजग्गा राजीनामा पास भइसकेको थियो । त्यसपछि उनले सिआइबीमा उजुरी दिएका दिए ।

राणाले सो जग्गा आफ्नो नाममा ल्याउन नागरिकतासहित १२ वटा नक्कली सरकारी कागजपत्र बनाएको थिए । जग्गा नामसारीका लागि ललितपुर महानगरपालिका– ३ बाट जारी भएको सनाखतसहितको सिफारिसपत्र, नाता प्रमाणित प्रमाणपत्र, जग्गाधनी कमला राजभण्डारी र उनका श्रीमान् गोपाल राजभण्डारीको मृत्युको प्रमाणपत्र बनाएका थिए । कमलादेवीका तीन छोराको नाममा नक्कली नागरिकता, नेपाली दूतावास अस्ट्रेलियाको नामको मञ्जुरीनामाको पत्र, नक्कली प्रेस कार्ड बनाएका थिए । कमलादेवीका एक छोरा अस्ट्रेलियामा भएकाले दूतावासबाट प्रमाणित भएको मञ्जुरीनामाको पत्रसमेत पेस गरेका थिए । जसअनुसार जग्गाधानीको बारेमा विस्तृत सूचना संकलन गरेर उनले ठगी योजना बनाएको हुन सक्ने सिआइबीका एसपी बेलबहादुर पाण्डे बताउँछन् । सो जग्गा एनआइसी एसिया बैंकमा धितो राखेर २० करोड कर्जा लिने प्रक्रियासमेत राणाले अघि बढाइसकेका थिए । त्यसका लागि गंगा ट्रेडर्स नामक कम्पनी दर्ता गरिएको थियो । अमेरिकाबाट निष्काशनमा परेर राणा खुखार ठग हुन् । उनलाई जोगाउन प्रहरी नै सक्रिय भएपछि छुटेपछि फेरि उनले यस्तै धन्दा अघि बढाउने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्