Logo
Logo

लप्पन छप्पन मनपर्दैन– रञ्जिता सुनुवार, मोडल


- दृष्टि न्युज/संवाददाता


मोडलिङमा भर्खरै चम्किँदै गरेको नाम हो, रञ्जिता सुनुवार । यतिखेर उनी मोडलिङमा संघर्षरत छिन् । भर्खरै २० वर्ष टेकेकी रञ्जिता भन्छिन्, ‘मोडलिङ मेरो सानैदेखिको रहर र इच्छा हो ।’ सानोमा सिनेमाको पर्दामा ‘हिरोइन’ नाचेको देख्दा रञ्जितालाई त्यस्तै बन्ने रहर जाग्थ्यो रे । दोलखाकी रञ्जिता भन्छिन्, ‘सानोमा खुबै फिल्महरु हेर्थेँ, त्योबेलादेखि हिरोइन हुने सपना देख्न थालेकी हुँ ।’ तर, उनलाई हिजोआज हिरोइनभन्दा मोडल बन्न ठीक लाग्न थालेको छ । ‘फिल्मका लागि त सोच्नैपर्छ’ एजुकेशनमा प्लस–२ (१२ कक्षा)मा अध्ययनरत रञ्जिताले सुनाइन्, ‘शिक्षिकाका लागि एक महिना ट्रेनिङ समेत गरेकी छु । शिक्षिका पनि ठीकै थियो, तर मैले मोडलिङ नै रोजेँ ।’ पहिलोपटक ‘काठमाडौं सहर’ बोलको गीतमा मोडलिङ गरेर ग्ल्यामरस दुनियाँमा करिअर सुरु गरेकी रञ्जिता हिजोआज परीक्षाको तयारी गर्दैछिन् । कोरोना संक्रमणको महामारीबीच १२ कक्षाको परीक्षा आज (मंगलबार)देखि सुरु हुँदैछ । शिक्षिका बन्न छाडेर मोडलिङ रोजेकी रञ्जिता सुनुवारसँग एमपी सुब्बाको जम्काभेट :

 

सानै उमेरमा मोडलिङमा लाग्नुभएछ, कति वर्ष पुग्नुभयो ?

भर्खरै २० वर्ष लागेँ । के सानो भन्नु ? अब बुढी हुन लागियो ।

मोडलिङ गर्न थाल्नुभएको कति भयो ?

रहर र रुचि सानैदेखि थियो । तर, मोडलिङ गर्न थालेकोचाहिँ एक वर्ष मात्र हुँदैछ । रुचि र इच्छा भएर पनि मोडलिङ क्षेत्रमा चिनजान र आफन्त थिएनन् । यो क्षेत्रमा चिनजानको नहुँदा अवसर पाउन गाह्रो हुन्छ ।

मोडलिङमा प्रवेश गर्ने अवसरचाहिँ कसरी मिल्यो ?

एक जना दाईले फेसबुकमा रिक्वेस्ट पठाउनुभयो । उहाँ चिनजानकै हुनुहुन्थ्यो । उहाँले नै सुरुमा कल्चरल फोटोसुट गर्ने हो भनेर सोध्नुभयो । मैले ‘हुन्छ’ भनेपछि कल्चरल फोटोसुट गरेँ । फोटोसुट गरेपछि मोडलिङका लागि अफरहरु आउन थाल्यो । फोटोसुट मेरो मोडलिङको पहिलो भ¥याङ हो ।

फोटोसुट नगरेको भए मोडलिङमा तत्काल सम्भव थिएन त ?

तत्काललाई थिएन । तर, ढिलोचाँडो मोडलिङमा अवश्य आउँथे । तर, त्यो फोटोसुटले गर्दा केही चाँडो यो क्षेत्रमा अवसर पाएँ ।

छोटो समयमै मोडलिङ चम्किँदै हुनुहुन्छ, क्षेत्र कस्तो लागिरहेको छ ?

एकदमै राम्रो । नयाँ–नयाँ कुरा सिकिरहेकी छु । अहिले म नयाँ छु । त्यसैले सिनियरहरुसँग काम गर्दा डर पनि लाग्छ । डर लागेपनि सिनियरसँग काम गर्दा उनीहरुसँग धेरै कुरा सिक्न पाएकी छु ।

काठमाडौं सुरुमा केका लागि आउनुभएको थियो ?

म सानैमा काठमाडौं आएकी हुँ । यहाँ दिदी–भेनासँगै बसेर पढेकी हुँ । कक्षा ९ र १० चाहिँ दोलखाबाटै पास गरेँ । त्यसपछि फेरि काठमाडौं आएर उहाँहरुसँगै बसेर कलेज जोइन गरेँ । अहिले पनि दिदी–भेनासँगै बसेकी छु ।

अध्ययनचाहिँ कहाँ पुग्यो ?

अहिले कक्षा १२ को परीक्षाको तयारी गर्दैछु । यही ९ गते (आज)बाट परीक्षा सुरु हुँदैछ । कोरोनाले गर्दा परीक्षा पनि खाश राम्रो होलाजस्तो छैन ।

पढाइ र मोडलिङ दुईतिर कसरी समय मिलाउनुहुन्छ ?

अहिलेसम्म नयाँ छु । त्यसैले व्यस्त भएकी छैन । अहिलेसम्म त समय मिलिरहेको छ । मोडलिङमै व्यस्त हुन थालियो भने त्यही बेला सोचौँला ।

मोडलिङ क्षेत्रमा नयाँ अनुहारलाई गाह्रो हुन्छ भन्छन् नि ?

गाहै्र छ । चिनजान र आफन्त भएन भने यो क्षेत्रमा झनै गाह्रो । पहिलोपटक भेटेको मान्छेलाई विश्वास गर्ने कुरै भएन । तर, काम गर्दै जाँदा मान्छेहरु पनि चिनिँदै गइन्छ र सजिलो हुँदै जाने रहेछ ।

लक्ष्य के छ ?

मोडलिङमै करिअर बनाउने हो । सुरुमा मोडलिङमा रहर र रुचि भएपनि मोडल नै बन्छु भन्ने लागेको थिएन । तर, अब यो क्षेत्रमा पाइला राखिसकेपछि यही क्षेत्रमा करिअर बनाउने लक्ष्य लिएकी छु ।

सामाजिक सञ्जालमा निकै सक्रिय देखिनुहुन्छ । कस्ता म्यासेसहरु आउँछन् ?

म्यासेसभन्दा मेरो थुप्रै ‘फेक आइडी’ बनेका छन् । कसले बनाएको हो, त्यो मलाई थाहै छैन । आफ्नो अर्जिनल आइडीमा फोटो अपलोड गर्नेवित्तिकै ‘फेक आइडी’मा अपलोड भइरहेका हुन्छन् । कम्प्लेन गर्दा पनि टेर्दैनन् । कतिपयले किन नाम फेरेको भनेर समेत सोध्छन् । तर, नाम फेरेकी छैन । मेरो नाम रञ्जिता सुनुवार नै हो । मेरो एउटामात्र फेसबुक आइडी छ । अरु सबै ‘फेक’ हुन् ।

जिस्क्याउने र प्रेम प्रस्ताव गर्नेहरु कतिका छन् ?

त्यो त भइहाल्छ नि । प्रेम प्रस्ताव आउँदैमा एसेप्ट गर्नुपर्छ भन्ने छैन । हिजोआजको लभ, आज छ, भोली छैन । यस्तो लप्पन छप्पन मलाई मनपदैन ।

प्रतिक्रिया दिनुहोस्